उदयपुर, ११ कात्तिक । कटारी नगरपालिका–१ पोखरियामा सडक र विद्युत पुगेको छ । सिरहा र उदयपुरको सिमास्थित चुरे जंगलभित्र पर्ने दुर्गम पोखरियामा पहिलोपटक सडक र विद्युत पुगेको हो । विकासबाट ओझेलमा परेको पोखरियामा नगरपालिकाको पहलमा सडक र विद्युत पुर्याएको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
विकासबाट पछि परेका गाउँहरूलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई नगरले जारी राखेकाले पोखरियामा बत्ती र सडक पुगेको उहाँको भनाइ छ । गाउँमा बिजुली र सडक पुगेपछि स्थानीय हर्षित भएका छन् ।
नगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणको सहकार्यमा पोखरियामा बिजुली बालिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । बिजुलीसँगै त्यहाँ नगरपालिकाले सडक पनि निर्माण गरिदिएको छ । ३० घरमा सबमिटर राखेर ६४ घरधुरीमा बिजुली बाल्न सुरु गरिएको श्रेष्ठले बताउनुभयो । सडक र विद्युतको प्रदेशसभा सदस्य तथा पूर्वप्रदेशका राज्यमन्त्री कला घलेले उद्घाटन गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्