जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १७:२२

आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला


चितवन, कात्तिक ११ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘गठवन्धनका विषयमा कुरा उठेको छैन । कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ ।’ कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उहाँको भनाइ छ ।

फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ । विश्वास गर्नुपर्यो । समयमा नै अधिवेशन हुनुपर्छ ।’ महाधिवेशनमा आफ्नो उम्मेदवारी के हो भन्ने विषयमा उहाँले आफू छलफलमै रहेको बताउनुभयो ।

राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उहाँले आफ्नो उम्मेदवारी समय आएपछि मात्र जानकारी दिने बताउनुभयो । कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उहाँले बताउनुभयो । पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उहाँले भन्नुभयो, ‘यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ ।’