पोखरा, कात्तिक १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीबिरुद्ध फैसला गर्ने प्रधानन्यायाधीशलगायत कुनै पनि न्यायाधीशमाथि सत्तारुढ गठबन्धनले महाअभियोग लगाउने कुरा सोच्न पनि नसक्ने बताउनु भएको छ । पोखरामा पत्रकारसँग कुरा गर्दै नेपालले ओलीबिरुद्ध फैसला गर्ने काम गरेर न्यायाधीशहरुले राम्रो काम गरेको कारण सत्तारुढ गठबन्धन महाअभियोगतिर नजाने प्रष्ट पार्नुभएको हो ।
नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको बताउनु भयो । ‘सर्वोच्च अदालतका न्यायाधीशले ५ पुसमा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नुभयो, त्यसको प्रसंशा दुनियाँले गरेको छ । त्यसपछि जेठ ७ गते उही प्रधानमन्त्रीले दुष्साहस गर्नुभयो । त्यसविरुद्ध पनि उहाँहरु उभिनुभयो,’ नेपालले भन्नुभयो । उहाँले केपी ओली र तिनका हनुमान बाहेक अरुले न्यायाधीशको बिरोध नगरेको र नगर्ने दावी पनि गर्नुभयो ।
नेपालले सबैखाले निर्वाचन एकै पटक गर्न पनि प्रस्ताव गर्नुभयो । ‘अर्ली इलेक्सन किन गर्नुपर्यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकै पटक गर्न पर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला,’ नेपालले भन्नुभयो, ‘कानुनी अड्चन छ कि छैन कुन्नी । हामी सल्लाह गर्छौं, मिल्छ भने त्यहि बाटोमा किन नजाने ?’













प्रतिक्रिया दिनुहोस्