जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार १३:१८

वर्तमान सरकार र संसदले बिजनेस दिन सकेको छैन – संसदीय दलका उपनेता नेम्वाङ


काठमाडौं, १३ कार्तिक । प्रमुख प्रतिपक्षी दलका स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाल बार एशोसियशनभित्र वकिलहरुबीचमा हात हालाहाल हुनु चिन्ताको विषय रहेको बताउनुभएको छ ।

शनिबार बानेश्वरस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा उपनेता नेम्वाङले यस विषयमा सर्वोच्च अदालतले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । सर्वोच्च अदालतलाई राजनीतिक दलहरुले हस्तक्षेप नगर्ने बरु यसको सम्मान गर्दै आएको उहाँले बताउनुभयो । प्रतिनिधिसभा पुर्नस्थापनाका विषयमा सर्वोच्चका फैसलासँग एमालेको केही असहमति हुँदाहुँदै पनि पार्टीले यसको कार्यान्वयन गरेको उहाँको भनाइ छ । संसदको नवौं अधिवेशनलगायत समसामयिक विषयमा समिक्षा गर्न बसेको एमाले संसदीय दलको बैठकमा उहाँले वर्तमान सरकार र संसदले बिजनेस दिन नसकेको समेत आरोप लगाउनुभयो ।

प्रमुख प्रतिपक्षी दलको हैसियतले एमालेले निरन्तर विरोध जनाए पनि एक सेकेण्ड पनि संसद र राज्यका कुनै पनि गतिविधि अवरुद्ध नभएको उहाँको भनाइ छ । विहान ११ बजेदेखि बसेको एमाले संसदीय दलको बैठक सम्पन्न भएको छ ।