जनता टाइम्स

१३ कार्तिक २०७८, शनिबार १७:१३

कर्णालीमा काँग्रेसलाई धोका : प्रचण्डले दिए मुख्यमन्त्रीलाई यस्तो निर्देशन


सुर्खेत, कार्तिक १३ । कर्णाली प्रदेशको राजनीति पुनः तातिएको छ । सरकार फेरबदलको कुराले सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच मतभेद देखिएको छ ।

गत वैशाख ३ मा महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा उनलाई साथ दिएको नेपाली काँग्रेसले पूर्व सहमति अनुसार जुनसुकै हालतमा पनि मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ भने माओवादी पक्षले केन्द्रीय गठबन्धनको निर्णय कुरिरहेको छ । गत वैशाख २ मा प्रदेशमा दुई पार्टीबीच आलोपालो गर्ने सहमति भएको थियो । तर अहिले बनेको केन्द्रीय गठबन्धनलाई हेर्दा कर्णाली प्रदेश काँग्रेसको भागमा नपर्ने देखिन्छ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्डले तत्काल राजिनामा नदिन कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई निर्देशन दिएपछि माहोल झनै विग्रदै गएको छ ।

“हामी नया सहमति गर्दैछौं । अहिले राजिनामा नदिनुस ।” मुख्यमन्त्री शाहीसङ्ग फोनमा कुरा गर्दै प्रचण्डले भन्नुभयो ,”कर्णाली हाम्रो आधार क्षेत्र हो । तपाइकै नेतृत्वमा चुनाबमा जाने हो ।”

मुख्यमन्त्री शाहीले आफूलाई राजीनामा नगर्न अध्यक्ष प्रचण्डले निर्देशन दिएको समेत बताउदै आउनुभएको छ । उहाँले माधव नेपालले पनि आफ्नै निरन्तरता चाहेकाले कांग्रेसलाई मुख्यमन्त्री नछाड्ने बताउनुभयो । कर्णालीमा कात्तिक १५ पछि कांग्रेसका जीवन शाहीले मुख्यमन्त्री दावी गर्नुभएको छ । सहमतिविपरित माओवादी र मुख्यमन्त्री अघि बढेकोमा उहाँले असन्तुष्टि जनाउनुभएको छ ।