जनता टाइम्स

१७ कार्तिक २०७८, बुधबार ०९:१७

कैलालीका सात स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व चयन


कैलाली, कार्तिक १७ । कैलाली जिल्लाका सात पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ । धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, जानकी, कैलारी, जोशीपुर, चुरे, बर्दगोरिया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कैलालीले जनाएको छ । कैलालीमा १३ स्थानीय तह रहेका छन् ।

अझै ६ पालिका कमिटीको नेतृत्व चयन गर्न बाँकी रहेको एमाले कैलालीका इन्चार्ज नारदमूनि रानाले जानकारी दिनुभयो । लम्की चुहा र घोडाघोडी नगरपालिका तथा मोहन्याल, गाउँपालिका सहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । गोदावरी र टीकापुर नगरपालिकामा २२ गते, भजनीमा २३ गते मात्रै बन्दसत्र गरेर नेतृत्व चयन गरिने रानाले बताउनुभयो । एमालेले मंगलवारसम्म चयन गरेका सातमध्ये दुई स्थानीय तहमा महिलाले नेतृत्व पाएका छन् ।

गौरीगंगा नगरपालिकामा शान्ति सिंह र कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष चयन हुनुभएको छ । धनगढीमा रामचन्द्र जोशीको अध्यक्षतामामा ८५ सदस्यीय कमिटी गठन भएको छ । जानकी गाउँपालिकामा खकेन्द्र भण्डारीको अध्यक्षतामा ७१ सदस्यीय जोशीपुर गाउँपालिकामा केशर चौधरीको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी चयन भएको छ । चुरे गाउँपालिकामा चक्र बोगटीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको छ । बर्दगोरियामा मधुकर सिजापतिको अध्यक्षतामा ६० सदस्यीय कमिटी गठन भएको छ ।