जनता टाइम्स

१८ कार्तिक २०७८, बिहीबार १५:०७

भाइटीकामा ढाकाटोपीको खास अर्थ र महत्व


काठमाडौं, कात्तिक १८ । तिहारमा चेलीले माइतीका लागि उपहार दिने प्रचलन सर्वोत्तम मानिन्छ ढाकाटोपी । यसको खास अर्थ र महत्व छ किनभने यसलाई पहिरनको पनि उच्च कोटीमा राखिन्छ । हाम्रा पूर्खाहरुले टोपीलाई शिरपोसको उपमा दिँदै यसको महत्वलाई दर्शाए । तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन छ ।

यसको खास अर्थ हो, टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ । अर्कोतिर के पनि धारणा छ भने भाइटीकामा माइतीको टाउको खाली राख्नुहुँदैन । यही कारण टोपी पहिर्याइदिने गरिन्छ । त्यसो त ढाकाटोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध पनि छ । यसमा हामी आफ्नोपन पाउँछौ । किनकि, यो हाम्रो आफ्नै उत्पादन हो । तिहार नजिकिएसँगै ढाकाटोपी बजारमा छ्यापछ्याप्ती देखिन्छ । तिहारलाई लक्षित गरेर बजार ढाकाटोपीले ढाकिन्छ ।

बजारमा ढाकाटोपी देख्नासाथ हामी रोमाञ्चित हुन्छौं । किनभने, यसले हामीलाई तिहारको मिठास दिन्छ । आधुनिकताको नाममा पछिल्लो समय ढाकाटोपी मारमा परेको देखिन्छ । अहिले चेलीले माइतीलाई ढाकाटोपी होइन अन्य लत्ताकपडा दिने चलन बढेको छ । भाइटीकामा दिइने उपहारलाई अन्य लत्ताकपडा तथा ग्याजेटहरुले प्रतिस्थापन गर्दै आएका छन् । ढाकाटोपी नेपालीहरुको मौलिक पहिचान हो । ढाकाको कपडामा तयार पारिने ढाकाटोपी पुरुषहरुले लगाउने एक प्रकारको टोपी हो ।

निधारसहित सम्पूर्ण टाउको ढाक्ने भएकोले पनि यसलाई ढाकाटोपी भनिने जनविश्वास छ । त्यस्तै, बंगलादेशको ढाका शहरबाट यस किसिमका कपडा आयातीत गरेर बनाइने भएकाले पनि यसलाई ढाका भन्ने गरेको पाइन्छ । ढाकाटोपी विशेषगरी दौरा सुरुवालका साथमा पहिरिने गरिन्छ । सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको ढाकाटोपी तत्कालीन राजा महेन्द्र शाहको पालामा ढाकाटोपी बढी मात्रामा प्रचलनमा आएको थियो ।

त्यसबेला नेपालको सरकारी कार्यालयमा काम गर्ने सबैलाई नेपाली पोशाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्दछ । ढाका टोपीलाई नेपालीको कला धर्म, संस्कृतिसँग पनि जोडिएको पाइन्छ । धार्मिक कार्य गर्दा निधार तथा शिर खाली राख्नुहुन्न भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्यपछि ढाकाटोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटीकाको दिन हरेक दिदीबहिनीले आफ्ना दाजुभाइलाई ढाकाटोपी लगाइदिने चलन रहेको मान्यता छ ।