जनता टाइम्स

२२ कार्तिक २०७८, सोमबार १४:५३

सर्वोच्चका न्यायाधीश विभाजित भएका हुन् ? थप दुई न्यायाधीश पनि फर्किए इजलास


काठमाडौं, २२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश आज मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्ना लागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताउनुभएको थियो ।

तर, न्यायाधीशहरू कुमार चुडाल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका छन् । ढुंगाना र रेग्मीले संयुक्त इजलासमा एउटा बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ थाल्नुभएको छ । यसअघि अर्का न्यायाधीश चुडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गर्नुभएको छ ।

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक–एकवटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास जानुभएको छैन । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई छोडेर रोलक्रममा बनिष्ठतम् न्यायाधीशहरूका लागि इजलास गठन गर्नुभएको थियो ।

जबराविरुद्ध आन्दोलन गरिरहेका न्यायाधीशलाई मुद्दा सुनुवाइ नछाड्न चर्को दवाव परिरहेको छ भने प्रधानन्यायाधीश आफुप्रति नरम देखिएका न्यायाधीशको इजलास तोकेर धमाधम मुद्दा सुनुवाइ अघि बढाउने रणनीतिमा छन् । उहाँको यही रणनीतिअनुसार आजका लागि इजलास गठन भएका छन् ।