धनकुटा, कात्तिक २९ । छिन्ताङ हत्याकाण्डको ४३ वर्ष पूरा भएको छ । आज नेकपा एमालेले ४३ औँ छिन्ताङ स्मृति दिवस मनाउँदै छ । धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङमा हुने सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले जानकारी दिनुभयो ।
सभामा एमालेका नेताहरू सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र दुर्गा प्रसाईले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओले सहिद परिवारसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको अध्यक्ष राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार सभामा माओवादी केन्द्र र कांग्रेस त्यागेर ठूलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन ।
आज सयौँ कार्यकर्ता एमाले प्रवेश गर्ने भएपछि धनकुटामा माओवादी केन्द्र शून्य प्राय हुने भएको छ । धनकुटा नगरपालिकाका वडा नम्बर ९ मा वडा अध्यक्षमा विजयी भएका एकमात्र माओवादी नेताले एमाले रोजेका छन ।
वडा नम्बर ९ का अध्यक्ष सन्दिप रायमाझीले प्रचण्ड लगायतले आन्दोलनप्रति गद्दारी गरेका कारण राष्ट्रको समृद्धिको अभियानमा सहभागी हुन नेकपा एमालेमा प्रवेश गर्ने निर्णयमा पुगेको बताउनुभयो । सोमबार धनकुटाको सहिदभूमि गाउँपालिकाको छिन्ताङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका सयौँ कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रम रहेको छ । सोमबारको कार्यक्रममा सयौँ माओवादी कार्यकर्ता एमाले प्रवेश गर्ने र त्यसको तयारी अन्तिम चरणमा पुगेको प्रसाईले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्