काठमाडौँ, १२ मंसिर । सत्ता गठबन्धनका नेताहरूले न्यायालयमा देखिएको विवाद समाधानका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई दुई विकल्प दिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच न्यायालयमा उत्पन्न समस्या समाधानका लागि भएको छलफलले प्रधानन्यायाधीश जबरालाई दुई विकल्पमध्ये एउटा रोज्नुपर्ने निष्कर्ष निकालेको हो ।नेताहरूले लामो समयसम्म न्यायालय ठप्प हुनु गलत भएको निष्कर्ष निकाल्दै प्रधानन्यायाधीश जबरालाई दुई विकल्प दिएका हुन् ।
‘लामो समयसम्म न्यायालय ठप्प हुँदा राम्रो सन्देश गएको छैन । त्यसैले नेताहरूले दुई विकल्प दिनुभएको छ, त्यो भनेको कि प्रधानन्यायाधीशले बार र न्यायाधीशलाई मनाउनुपर्यो, कि राजीनामा दिएर निकास दिनुपर्यो,’ एक नेताले भन्नुभयो ।यसअघि पनि दलका नेताहरूले न्यायालयको विवाद न्यायालयभित्रैबाट समाधान हुनुपर्ने भन्दै आएका थिए ।
न्यायालयको सेवा ठप्प हुँदा दलहरू र सरकार चुप लागेर बस्न नमिल्ने भन्दै जबराको राजीनामा मागेर आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले प्रधानमन्त्री देउवासहित गठबन्धनका नेताहरूलाई छुट्टा–छुट्टै भेटेर निकास दिन आग्रह गर्दै आएका थिए ।प्रधानन्यायाधीशलाई निकासका लागि विकल्प दिएका दलहरूले केही दिनभित्रै गठबन्धनको बैठकमा समेत त्यसबारे छलफल गर्ने तयारी रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले केही दिनमा नै सत्ता गठबन्धनको बैठक बोलाउने तयारी गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्