काठमाडौं, २५ मंसिर। कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सहमतिको आलोचना गर्नुभएको छ । शनिबार केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाउनुभएको हो ।
सिंहको उम्मेदवारी घोषणापत्रमा भनिएको छ, ‘सभापतिजीले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सम्झौता र निर्वाचनपछि पनि सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा प्रचण्डको राजनीतिक धरातल बनाइदिन गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन हाम्रो पार्टी सभापतिले खेलेको भूमिका, नेपाली काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा थियो ।’
पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढङ्गबाट देउवा एक्लैले ठूलो आत्मघाती निर्णय गरेको सिंहको आरोप छ । सिंहले भन्नुभएको छ , ‘उक्त घटनाले देशव्यापी रूपमा स्वाभिमानी कांग्रेसीजनको शीर निहुर्याएको थियो । पार्टी सभापतिजीको सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको यो सिद्धान्तहीन अराजनीतिक कदमले निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई ठूलो क्षति पुगेको थियो भन्ने मेरो ठहर छ ।’













प्रतिक्रिया दिनुहोस्