काठमाडां, मंसिर २८ । काठमाडौंमा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भइरहेको सभापति पदको मतगणनामा शेरबहादुर देउवा प्रतिस्पर्धी शेखर कोइराला भन्दा २५८ मतल अगाडि देखिनुभएको छ । मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइराला मुख्य प्रतिस्पर्धी देखिनु भएको छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म २२०६ मतगणना सकिएको छ। यो गणनामा देउवाले अग्रता कायमै राख्नुभएको छ । देउवालाई कोइरालाले पछ्याइरहनु भएको छ । २२ सय ६ मतगणना हुँदा शेरबहादुर देउवाले १०५१, शेखर कोइरालाले ७९३, प्रकाशमान सिंह २०४, विमलेन्द्र निधि १७४ र कल्याण गुरुङले १० मत पाउनु भएको छ ।
मंगलबार बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको थियो। मतगणनामा सुरुवातीदेखि अग्रता देउवाकै छ। महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। सभापतिमा विजयी हुन कम्तिमा २३४० मत आवश्यक पर्छ। कांग्रेस सभापतिमा निर्वाचित हुन कुल खसेकोमध्ये ५१ प्रतिशत मत आवश्यक पर्छ। यो प्रतिस्पर्धा कायमै रहे पहिलो चरणमा सभापति पदमा कसैको ५१ प्रतिशत नपुग्न सक्छ।
कोइरालासहितका सभापतिका अन्य चार उम्मेदवारको मत जोड्दा देउवा पछाडि हुनुहुन्छ। यो मतपरिणाम कायम रहे देउवाले सभापतिमा ५१ प्रतिशत पुर्याउन गाह्रो छ। त्यसो हुँदा दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा भिड्छन्। कम ल्याउने उम्मेदवारले जसलाई सहयोग गर्छन् उही सभापति निर्वाचित हुने छ।













प्रतिक्रिया दिनुहोस्