जनता टाइम्स

५ पुष २०७८, सोमबार १२:३६

फिलिपिन्समा आँधीबाट करिब २०८ को मृत्यु, ४ लाख मानिस प्रभावित


नयाँ दिल्ली, ५ पुस । फिलिपिन्समा शक्तिशाली आँधीबाट मृत्युको हुनेको संख्या करिब २०८ पुगेको छ। करिब ४ लाख मानिस प्रभावित भएको भारतीय संचारमाध्यमले जनाएका छन्। गत बिहीबार र शुक्रबार फिलिपिन्समा राई नामको शक्तिशाली आँधी आएको थियो। त्यसपछि हिजोदेखि त्यहाँ राहत र उद्दार कार्य जारी छ। आँधीबाट बोहोल प्रान्तको अवस्था खराब रहेको जनाइएको छ ।

समाचारमा बताइएअनुसार बोहोल प्रान्तमा ७२ जनाको मृत्यु भएको छ। कतिपय मानिस वेपत्ता भएको जनाइएको छ। अहिले अधिकारीहरु मृतकको पूर्ण आँकडा संकलनमा व्यस्त छन् ।

आँधीपछि आएको पहिरो र बाढीका कारण ज्यान गुमाउनेको यकिन तथ्यांक संकलन भइरहेको छ । हावाहुरीका कारण धेरै ठाउँमा विद्युत, खानेपानी अवरुद्ध भएको छ । जसले गर्दा जनजीवन प्रभावित भएको छ। राईलाई पाँचौं श्रेणीको आँधी मानिएको छ, जुन निकै भयानक छ। बोहोल प्रान्तसँगै यसले सेबु, लेयते, सुरिगाओ डेल नोर्टे प्रान्तलाई पनि असर गरेको छ।