जनता टाइम्स

६ पुष २०७८, मंगलवार १३:५४

विश्वप्रकाश शर्मापछि गगन थापा पुगे सिटौला निवास


काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौला निवास पुग्नुभएको छ । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएको एक सातापछि थापा आज नेता सिटौला निवास पुगेर आशीर्वाद माग्नुभएको छ । कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा हुनुहुन्थ्यो ।

सिटौला सभापति र थापा महामन्त्रीका उम्मेदवार हुनुहुन्थ्यो तर दुवै पराजित हुनुभयो । त्यसयता थापा सिटौला समूहबाट रामचन्द्र पौडेल समूहमा लाग्नुभयो । १४औं महाधिवेशनमा थापा डा. शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभयो । तीन हजारभन्दा बढी मत ल्याएर चुनाव जित्नुभयो ।

महामन्त्री थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिनुभएको थियो । उहाँले विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिनुभएको थियो । आइतबार मात्रै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा नेता सिटौला निवास पुगी आशीर्वाद माग्नुभएको थियो । सिटौलाले आशीर्वाद दिँदै यो भन्दा पनि माथि पुग्नु भनेर आशीष दिनुभएको थियो ।