खड्क सुनार, मुगु । कर्णालीमा सम्भवतः पहिलो पटक छोरीले बुवाको दाहसंस्कार गरेकी छन् । छायानाथ रारा नगरपालिका वडा नं ५ स्थित साल्ट ट्रेडिङ्ग कर्पोरेशन मुगुमा कार्यालय सहयोगिका रुपमा काम गर्दे आएका वर्ष ४९ का ज्ञानबहादुर बुढाकी १७ वर्षीया छोरी अमदेवी बुढाले देहवशान भएका बुवालाई दागवत्ती दिनुभएको हो ।
छोरीले बुवाको दाहसंस्कार गरेपछि यहाँका स्थानीयले कर्णालीकै सर्वश्रेष्ठ छोरीको रुपमा उहाँको चर्चा गरिरहेका छन् । हिन्दू परम्परामा छोरा (पुरुष) ले दागवत्ती दिने प्रचलन भए पनि अमदेवीले बुवालाई दागवत्ती दिनुभएको हो । उहाँका दाजुभाइ पनि छन् । स्वर्गीय ज्ञानबहादुरका जेठा छोरा वीरेन्द्र र कान्छा छोरा महेन्द्रले बहिनीलाई पनि छोरा सरहको अधिकार रहेको भन्दै दागवत्ती दिने कुरालाई सहज रुपमा लिएको बताउनु भयो । ‘बहिनीले हामी छोरा सरहको अधिकार पाउनुपर्छ, दिनुपर्छ भन्ने उद्देश्यले हामी दुई भाइको सल्लाह बमोजिम बहिनीकै हातबाट बुवाको दाहसंस्कार गरेका हौ,’ वीरेन्द्र र महेन्द्रले भन्नुभयो ।
उहाँले दाजुभाइ नभएका महिलाले पनि दाहसंस्कार गर्न सक्छ भनेर समाजमा जानकारी दिन आफूले यस्तो गरेको बताउनु भयो । ‘म एक नारी हुँ, घरकि कान्छी छोरी पनि हुँ। ग्रामिण प्रचलन अनुसार छोराले मात्र गर्नुपर्छ भन्ने चलन रही आएको छ र यो प्रचलनलाई नयाँ स्वरुपमा ढाल्न खोजेको होु अमदेवीले भन्नुभयो, यदी कसैका छोराहरु नभएर छोरी भए पनि बुवाको दाहसंस्कार गर्न सक्छन् भनेर यो कार्य गरेकी हुँ।’
दाईहरुको मात्र नभएर आफ्नो पनि वुबा भएका कारण अन्तिम संस्कारमा पनि हक भएको उहाँको भनाइ छ । काठमाडौंमा बसेर अध्ययन गर्दै आएकी अमदेवीले आफू पनि दाहसंस्कारमा उपस्थित हुने भन्दै एक दिन शव जलाउनबाट रोक्नुभएको थियो । दोस्रो दिन शनिबार आर्यघाट पुगेर दिउँसो १२ बजे बुवा ज्ञान बहादुरलाई उहाँले दागवत्ती दिनुभएको हो । छोरीले बुवाको दाहसंस्कार गर्छु भन्दै आग्रह गरेपछि नरोकेको मृतकका भाइ टोपबहादुर बुढाले बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्