जनता टाइम्स

१३ पुष २०७८, मंगलवार २०:०९

‘पेस्तोल बिक्री’ गर्न आएका दुई भारतीय पक्राउ


सुनसरी, पुस १३ । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बी।एस। होटलबाट उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ का २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ का वर्ष ३५ का विद्यानन्द राम रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले दुई थान अटोमेटिक पेस्तोल, तीन राउन्ड गोली र चार थान म्यागजिन बरामद गरेको छ ।बरामद हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज मङ्गलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको नम्बर प्लेटको सुपर स्पेलेन्डर मोटरसाइकलसमेत बरामद गरेको बताएको छ ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाले सुराकीका आधारमा होटलमा छापा पार्दा हतियारसहित भारतीय नागरिकलाई पक्राउ गरेको बताउनुभयो ।

सोधपुछका क्रममा भारतीय नागरिकले आफूहरू पेस्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोबारमा ठूलै गिरोहको संलग्नता रहेको हुन सक्ने आशङ्का सुनसरी प्रहरीले गरेको छ । सुनसरी प्रहरीले हतियारसहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कारबाहीको प्रक्रिया अघि बढाइएको बताएको छ ।