जनता टाइम्स

१६ पुष २०७८, शुक्रबार १७:५७

एमसीसीबारे प्रचण्डको अमूर्त जवाफ : धेरै बोल्दा देश खतरातर्फ जान्छ


काठमाडौं, १६ पुस । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका महाधिवेशन प्रतिनिधिसामु मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे अमूर्त जवाफ दिएर टार्ने प्रयत्न गरेका छन् । सोमबार आफूले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको आज जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे अस्पष्ट जवाफ दिनुभएको हो ।

एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उहाँले एमसीसी पार लगाउनुपर्ने बताउनुभयो । ‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ त्यही रुपमा बुझ्नुहोला । पार लगाइन्छ,’ उहाँले भन्नुभयो ।

एमसीसी पार लगाउने भन्ने प्रचण्डको जवाफको आशय पारित गर्ने वा खारेज गर्ने हो भन्ने स्पष्ट हुन नसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् । उहाँको सो धारणा एमसीसी खारेज गर्नुपर्ने केही महाधिवेशन प्रतिनिधिको बुझाइ छ भने अधिकांश अलमलमा परेका छन् ।