खार्तुम, पुस १९ । – सुडानका प्रधानमन्त्री अबदुल्ला हमदोकले पदबाट राजीनामा दिनुभएको छ । केही साताअघि सेनासँगको एउटा विवादास्पद सम्झौतापछि पुनः प्रधानमन्त्री भएका हमदुकले राजीनामा दिनुभएको हो ।
अक्टोबरमा सेनाले शक्ति हातमा लिएर हमदुकलाई घरमै नजरबन्दमा राखेको थियो । तर, कु गर्ने सेनासँग शक्ति बाँडफाँडमा सम्झौता गरेपछि उहाँ पुनः प्रधानमन्त्री हुनुभएको थियो । प्रदर्शनकारीले सम्झौताको विरोध गर्दै नागरिक शासन माग गर्दै आएका थिए । दुई जनाको मृत्यु हुने गरी भएको प्रदर्शनको भोलिपल्ट उहाँले राजीनामा दिनुभएको हो ।
एउटा टेलिभिजन सम्बोधनमा हमदोकले सुडान खतरनाक मोडमा पुगेको र यसले देशको अस्थित्व जोखिममा पारेको बताउनुभयो । आफूले देशलाई विपदबाट जोगाउन धेरै प्रयास गरेको उहाँले दाबी गर्नुभएको छ । सन् २०१९मा व्यापक विरोधपछि लामो समय सुडानको नेतृत्व गरेका ओमार अल–बशिरको सरकार अपदस्थ भएसँगै राजनीतिक दल र सेनाले एउटा असहज शक्ति साझेदारी सम्बन्धी सम्झौता गर्नुभएको थियो । सेनासँगको साझेधारीको सर्वसाधारणले विरोध गर्दै आएका थिए ।













प्रतिक्रिया दिनुहोस्