जनता टाइम्स

२१ पुष २०७८, बुधबार २२:५३

कोइरालाको देउवालाई चुनौती, सुध्रिनुहोस् नत्र पार्टी दुर्घटनामा


काठमाडौं, पुस २१ । भाषणमा आदर्शको कुरा गरेर नथाक्ने नेताहरु व्यवहारमा उल्टो बाटोमा हिड्ने गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा पराजित डाक्टर शेखर कोइरालाले आफू गुट र भागबण्डाको पक्षमा नभएको बताउनुभएको थियो । तर, पार्टीमा आफ्नो उपस्थिति देखाउन नेता कोइराला गुटगत छलफल र भेलामा सक्रिय हुनुभएको छ ।

नेपाली कांग्रेसको सभापतिमा पराजित शेखर कोइराला हिजो–आज गुटगत छलफलमा सक्रिय बन्नुभएको छ । महाधिवेशन लगतै उहाँनै हो, अब कांग्रेसमा गुटको अन्त्य भएको भाषण गर्ने नेता । उहाँले एक महिनापछि नै गुटलाई पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु गर्नुभएको छ । तर, उहाँ निकटहरु कोइरालाले सभापतिसंग बार्गेनिङ र भागबन्डाका लागि नभएर पार्टीमा भित्रिएको बिकृति बिसंगतिका विरुद्ध लडाई लडिरहेको दाबी गर्छन् ।नेपाली कांग्रेसको सभापतिका निर्वाचित हुने निकटतम प्रतिद्वन्दीलाई बरिष्ठ नेता मान्ने प्रचलन थियो। १३ औं महाधिवेशनमा शेरबहादुर देउवासंग पराजित नेता रामचन्द्र पौडेललाई सभापतिपछिको पद वरिष्ठ नेताको पद दिइयो ।

तर यसपटक देउवाका निकटतम प्रतिद्न्दी कोइरालालाई भने केन्द्रीय समितिको बरियाताक्रम्मा २० औं नम्बरमा राखियो ।पार्टीमा बरियतालाई लिएर रुष्ट बनेका कोइराला समूह केन्द्रीय समितिमा १३ जनालाई मनोनित गरेपछि त देउवासंग आमनेसामने हुने मनस्थितिमा छन्। त्यसैले कोइरालाले केही दिन यता आफू पक्षीय नेताहरुलाई बोलाएर छलफल प्रारम्भ गर्नु भएको छ ।

बुधबार पनि कोइरालाले काठमाडौंको हनुमानस्थानमा १४ औं महाधिवेशनमा आफ्नो समूहबाट उम्मेदवारी दिएका र आफु पक्षीय अन्य नेताहरुलाई बोलाएर छलफल गर्नु भयो । गोप्य भनिएको छलफल प्रारम्भ गर्नु अघि कोइरालाले सम्बोधन गर्दै पार्टीमा मन पर्ने र नपर्ने व्यक्तिका रुपमा छनौट हुने हो भने पार्टीमा दुर्घटना निम्तिने भन्दै देउवालाई चेतावनी नै दिनुभयो ।केन्द्रीय सदस्यको मनोनयतमा आफ्नो समूहका एक जना पनि नपरेपछि कोइराला देउवासंग रुष्ट बन्नुभएको छ ।

त्यसैले केन्द्रीय सदस्यको मनोनयनका सम्बन्धमा पनि उहाँले प्रश्न उठाउनु भयो ।सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गर्दा पौडेल बाहेक अरु सबै आफूलाई निर्वाचित गराउन सहयोग गर्ने नेताहरु रहेका छन् । पार्टी भित्र कटुता, विभाजन र असहयोगी भावना कतैबाट आउन नहुनेमा आफ्नो जोड रहेपनि पार्टीमा इमान्दार, निष्ठावान, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित रुपमा सभापति देउवाले पाखा लगाउन खोजेको कोइरालाको आरोप छ ।महाधिवेशनमा भागबन्डा र गुटबन्दीमा नलाग्ने प्रतिबद्धता जनाउने कोइरालाले पछिल्ला दिनहरुमा गुटलाई नै प्रश्रय मिल्ने गरी बैठक र छलफल तीव्र पार्नु भएको छ ।

बरियता र केन्द्रीय सदस्य मनोनयन नै कोइरालाका लागि गुटलाई बलियो बनाउने औजार भने बनेको छ । आफ्नो बरियता पनि कोइरालाका लागि प्रतिष्ठाको बिषय बनेको छ ।सभापतिमा पराजित कोइराला १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित हुनुभएको थियो । अघिल्लो कार्यसमितिमा उहाँको बरियता ३५ औं नम्बरमा थियो । तर यसपटक सभापतिमा पराजित भएका कोइरालाको बरियता २० औं नम्बरमा आइपुगेको छ । ६४ सालपछि मात्रै संक्रिय राजनीतिमा लाग्नु भएका कोइराला भन्दा धेरै पाका र माथिल्लो तहका नेतारु कांग्रेसमा रहेका छन् ।