जनता टाइम्स

२२ पुष २०७८, बिहीबार १३:२२

आर्थिक अभावमा क्यान्सरपीडित थापाको भारतमा बिचल्ली, झलनाथको उपचार गर्न ४८ लाख रकमान्तर


कञ्चनपुर, २२ पुस । जिब्रोको क्यान्सरबा पीडित शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका दलबहादुर थापाको आर्थिक अभावमा भारतको मुम्बईमा बिचल्ली भएको छ । खर्च अभावका कारण मुम्बइस्थित अधेरी अस्पतालमा थापाको उपचार प्रभावित भएको छ । थापाको जिब्रोको शल्यक्रिया गरिएको छ ।

थप उपचारका लागि रकम अभाव भएको थापाका साथी अमरबहादुर साउदले भन्नुभयो, ‘अस्पतालले उपचार रकम माग गर्न थालेको छ, परिवारजनले उपचार खर्च जुटाउन सकेका छैनन् ।’ थापासँग जग्गाको नाममा चार धुर मात्र छ । भारतमा लामो समयदेखि चौकीदारी गर्दै आएका उहाँको पाँच जनाको परिवार छ ।

‘आफैं बिरामी परेपछि परिवारको समेत बिचल्ली भएको छ’, साउदले भन्नुभयो । जिब्रोको शल्यक्रिया गरेको शुल्क अस्पताललाई तिर्न बाँकी छ । पैसा दिन नसक्दा हाल उहाँको उपचार बन्द छ । थापालाई अस्पतालबाट घर ल्याउनसमेत दिइएको छैन । बेलडाँडीका युवाले केही सहयोग रकम जम्मा गरेका छन् । सो रकम न्यून भएको स्थानीय भरतबहादुर साउदले बताउनुभयो ।

‘त्यो रकमले मुम्बई पुग्नै सकिँदैन । अन्य कुनै निकायले सहयोग गरे मुम्बईसम्म पुग्न सकिन्थ्यो’, उहाँले भन्नुभयो । यता सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनालको एपोलो अस्पतालमा उपचार खर्च भुक्तानी गर्न ४८ लाख ५० हजार रकमान्तर गरिएको छ । यस्तै रघुजी पन्तलगायतलाई आर्थिक सहायताका लागि भदौमा २७ लाख रकमान्तर भएको छ ।