काठमाडौँ, २९ पुस । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणको अझै किनारा लाग्न सकेको छैन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तयार पारेको प्रतिवेदन पनि सरकारी वकिलको कार्यालयले अनुसन्धान पुरा नभएको भन्दै फिर्ता पठाएको छ भने मुख्य योजनाकार भनिएका सुवेदी दम्पती पनि साधरण तारेखमा रिहा भएका छन् ।
पछिल्ला घटना क्रमले ललितानिवास जग्गा प्रकरणमा आरोपितलाई उन्मुत्ति दिने र घटनालाई थामथुम पार्ने प्रपञ्च त भैरहेको छैन भन्ने आशंका उब्जिएको छ ।हाइ–प्रोफाइल सहित तीन सय बढि व्यक्ति संलग्न रहेको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरण नेपालमा हुने ठूला भ्रष्टाचार मध्येको एक घटना हो । १ सय ४२ रोपनी ६ आना सरकारी जग्गा व्यक्तिका नाममा गरिएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १३ अर्ब रुपैयाँ बढीको बिगो दाबी गर्दै सरकारी वकीलको कार्यालयमा मुद्दा दर्ताका लागि बुझाएको थियो ।मुद्दा दर्ता गर्नु पर्ने हदम्यादको अन्तिम दिन सीआईबीले प्रतिवेदन तयार गरेर बुझाए पनि सरकारी वकीलको कार्यालयले अनुसन्धान पूरा नभएको भन्दै फर्काइदियो । सीआईबीले २ वर्ष लामो अनुसन्धानबाट तयार पारेको प्रतिवेदन पुस २२ गते जिल्ला सरकारी वकीलको कार्यालयमा बुझाएको थियो । तर थप केही विषयमा स्पष्टता हुन आवश्यक रहेकाको भन्दै प्रतिवेदन फिर्ता गराइएको छ ।ललिता निवास जग्गा प्रकरणका मुख्य योजनाकार भनिएका रामकुमार सुवेदी र माधवी सुवेदीलाई पनि सीआईबीले रिहा गरिसकेको छ । यी घटनाक्रमले राजनीतिक शक्तिकेन्द्र र पैसाको चलखेलमा ललिताविनास जग्गा हिनामिना प्रकरणलाई थामथुम पार्न खोजिएको आशंका बढेको छ ।यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदार, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, मन्त्रीहरु, उच्च ओहोदामा रहेका कर्मचारी तथा बिचौलियाहरुको संलग्नता देखिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिषेश अदालतमा दर्ता गरेको मुद्दाका आरोपितमध्ये कतिपय रिहा भइसकेका छन् । ललिता निवास जग्गा हिनामिना प्रकरणमा देखिएको हाइप्रोफाइलहरुको संलग्नता, अनुसन्धानमा भइरहेको अन्योल, सरकारी वकिलको कार्यालयले मुद्दा दर्तामै देखाएको उदासिनता जस्ता कुराले यो मुद्दामा पहुँचवालाहरुको हस्तक्षेप देखिन्छ ।शक्तिको आडमा भइरहेको चलखेलले ललिता निवास जग्गा प्रकरण यत्तिकै टर्दै जाने र सरकारी सम्पत्तिमाथिको दोहन झन बढ्दै जाने त होइन भन्ने आशंका उब्जिएको छ ।













प्रतिक्रिया दिनुहोस्