काठमाडौं, ८ माघ । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्ने सवालमा कोही पनि विपक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । देवकोटाले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो,‘अहिले अर्ली–ईलेक्शनको कुरा आएको छ । प्रतिनिधिसभाको र स्थानीय तहको निर्वाचन एकैसाथ गर्न सकिन्छ कि सकिँदैन् भन्ने बहस पनि छ । संघीय संसद् विगत लामो सयमदेखि अवरुद्ध छ । एमालेले संसद् चल्न दिएको छैन ।
अपेक्षाअनुसार संघीय संसद्ले गति लिन सकेन् । स्थानीय तहको निर्वाचन सँगसँगै प्रतिनिधिसभाको निर्वाचन गर्नेबारे छलफल भएको छ । सबभन्दा पहिलो स्थानीय तहको निर्वाचन हो । निर्वाचन आयोगले चुनावको मिति सिफारिश गरेको छ । निर्वाचन आयोगलाई मिति तोक्न दिने कुरामा मेरो आंशिक सहमति छ । आयोगलाई मिति दिनुभन्दा संविधानमै मिति तोक्नुपर्छ । चुनावको कुरा गर्दा सबै निर्वाचन २ महिना अगाडि नै किन नगर्ने ? यसो गर्दा राम्रो हुन्छ ।’
उहाँले संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने भन्दै गठबन्धन दलले चुनाव नसार्ने पनि जिकिर गर्नुभयो । उहाँले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने आधार सुनाउनुभयो । देवकोटाले थप्नुभयो,‘अर्ली–ईलेक्शन सम्भव छ । तीन तहको निर्वाचन एकै चरणमा गर्न सकिन्छ । तर, यसको लागि संसद्मा संकल्प प्रस्ताव पास गर्न जरुरी छ । अहिलेको प्रधानमन्त्री भनेको संविधानको धारा ७६ को ५ को प्रधानमन्त्री हो ।
यदि निर्वाचन गर्ने सवालमा सबै दल एक ठाउँमा उभिने हो भने संसद्मा संकल्प प्रस्ताव पेश गर्नुपर्छ, एमाले पनि यसको विरुद्धमा जाँदैन । उसले संकल्प प्रस्ताव पास गर्छ । त्यसो हुँदा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सकिन्छ ।’ सरकारले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने भन्यो भने निर्वाचन आयोगले पनि सक्दिन् भन्न नपाउने उहाँको टिप्पणी छ । देवकोटाले स्थानीय तहलाई भ्याकुममा राख्न नपाईने सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्