काठमाडौं, माघ १५ । विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको च्याम्पियन बनेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफ पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो ।
निर्धारित समयको खेल २–२ गोलको तथा त्यसपछि अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो ।
त्यसअघि निर्धारित समयमा एपिएफका युवराज खड्का र रवि थिङले तथा मनाङका दयानन्द सिंह र फ्रान्कलिन कोटे टालाले गोल गरे । पोखरा रंगशालामा शनिबार भएको खेलको तेस्रो मिनेटमा राजेश परियारको एकल प्रयासको प्रहार फितलो बन्दा गोलरक्षक युया कुरियामाले सहजै बचाए ।
पाँचौ मिनेटमा कप्तान नविन लामाको फ्रिकिकमा अर्मान्ड विडोउमको क्लोज रेन्जको हेडर सदुपयोग हुन नसक्दा एपिएफ अग्रता लिनबाट चुक्यो । आठौं मिनेटमा आदित्य चौधरीको लामो पासलाई नियन्त्रणमा लिदै गरेको अफिज ओलावालेले गरेको प्रहार आकासियो । १४औं मिनेटमा एपिएफका मणि लामाको क्रसमा विकी तामाङले आँफैले प्रहार गर्नुपर्ने बललाई पास दिदा रवि थिङले प्रहार गर्न सकेनन् ।
२०औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाए । प्रवेश दनुवार र रुपेश केसीबीच तालमेल नमिल्दा रवि थिङलाई लागेको बललाई अर्मान्डले भेटाएपछि दिएको पासमा दुई डिफेन्डरबीचबाट युवराजले दोस्रो बार च्याप्दै सहज गोल गर्न सफल भएका थिए ।
त्यसअघि २४औं मिनेटमा अर्मान्डको हेडरलाई मनाङका गोलरक्षक अशोक बरालले बचाएपनि यो मुभमा अर्मान्ड अफसाइड ठहरिएका थिए । २६औं मिनेटमा विकी तामाङको क्रसलाई दयानन्द सिंहको क्लियरेन्स क्रसबारबाट थोरै बाहिरिदा मनाङको अर्को संकट टरेको थियो ।
६७औं मिनेटमा दयानन्द सिंहले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कप्तान बिमल रानाको क्रसमा कसैको निगरानीमा नरहेका दयानन्दले गोलरक्षक युया कुरियामाले भेट्न नसकेको बललाई हेडमार्फत जाली चुमाएका थिए । ८४औं मिनेटमा फ्रान्कलिन कोटे टालाले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रवि थिङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
एपिएफ दोस्रोपटक फाइनलमा प्रवेश गर्दा पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो । यसअघि एपिएफ छैटौं संस्करणमा पुलिससँग पराजित भएको थियो । एपिएफसँगको हारसँगै मनाङ भने कीर्तिमानी सातौंपटक उपाधि जित्नबाट वञ्चित बन्यो ।
प्रतिक्रिया दिनुहोस्