जनता टाइम्स

१६ माघ २०७८, आईतवार १८:२९

सरकारविरुद्ध अनेरास्ववियुद्वारा तीनदिने आन्दोलनको घोषणा


काठमाडौं, माघ १६ । अनेरास्ववियुले सरकारविरुद्ध तीन दिने आन्दोलन घोषणा गरेको छ । अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै विभिन्न बहानामा पाँच दलीय परमादेशी गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन रोक्ने खोजेको भन्दै संविधान तथा लोकतन्त्रलाई रक्षा गर्न अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई आन्दोलनमा उत्रन बाध्य बनाएको बताइएको छ ।

स्थानीय तहलाई प्रतिनिधिविहीन बनाउने अभिप्रायले गठबन्धन सरकार संवैधानिक व्यवस्था विपरीत चुनाव टार्ने प्रपञ्चमा लागेको भन्दै अनेरास्ववियुले देशभरबाट खबरदारी गर्ने भएको हो ।

अनेरास्ववियुले माघ १७ (भोलि) देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने ।

भोलि नै देशैभर क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने । १८ गतेसम्म पनि मिति नतोकिए मन्त्री सहभागी कार्यक्रममा कालोझण्डा देखाउने । माघ १५ गते संघीय राजधानी र प्रदेश राजधानीमा कानूनविद्हरूको उपस्थितिमा सडक बहस गर्ने अनेरास्ववियुको कार्यक्रममा छ । अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार विरुद्ध कडा रुपमा आन्दोलनमा उत्रिन अपील गरिएको छ ।