जनता टाइम्स

२१ माघ २०७८, शुक्रबार १८:५५

गाउँपालिका अध्यक्षको भ्रष्टाचारले सीमा नाघेपछि प्रतिवादमा उत्रियो एमाले


इटहरी, माघ २१ । सुनसरीको कोशी गाउँपालिकामा नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ । कोशी गाउँपालिकामा बढेको अनियमितता, कमिसन, घुसपैठ र भ्रष्टाचारका विरुद्ध प्रदर्शन गर्दै नाराबाजी गर्दै आधा घन्टा चक्काजाम गरेका हुन् ।

नारामा ” नेपाली काङ्ग्रेसको गुन्डागर्दी बन्द गर, गाउँपालिकामा आर्थिक सुशासन कायम गर, कोशीका अध्यक्ष सहित कोशी गाउँपालिका ३ का वडा अध्यक्ष सुलेमान मंसुरीको सम्पती निष्पक्ष छानविन गर, अनियमितता गर्नेलाई कार्वाही गर, भ्रष्टाचारीलाई कार्वाही गर, अनियमितता र ढिलासुस्ती बन्द गर, अन्यायअत्याचार बन्द गर, नेकपा एमाले जिन्दावाद, नेपाली काङ्ग्रेस मुर्दावाद, उठ अख्तियार उठ कति सुत्छौ” भन्दै नाराबाजी समेत गरेका छन् ।

कोशी गाउँपालिका २ र ३ नम्बर वडामा नागरिक समाजको नाममा भएको पटक पटकको धर्ना, नाराबाजी र घेराउमा उठेको भ्रष्टाचारका मुद्धाहरुको छानविन गर्नुपर्ने र दोषी माथि कार्वाहीको माग गर्दै गाउँपालिका कार्यालय नजिक पूर्वपश्चिम लोकमार्गमा प्रदर्शन छन् ।

आन्दोलनमा उत्रेका एमालेका नेता कार्यकर्ताहरुले कोशी गाउँपालिकाको चार वर्षमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गरि दोषीलाई कार्वाही नगरेसम्म विभिन्न चरणको आन्दोलनको कार्यक्रम जारी राख्ने चेतावनी दिएका छन् । घेराउको क्रममा पक्राउ परेकाहरुलाई लगाएको झुठा मुद्धा फिर्ता लिनुपर्ने, दमनशैली बन्द गर्नुपर्ने, वार्ता र छलफलको नाममा बोलाएर यूवाहरुलाई कुटपिट गरेको र उल्टै मुद्धा चलाउने कामको विरोध समेत गरेका छन् ।

कोशी गाउँपालिकाको विभिन्न वडामा गरिब विपन्नलाई दिनुपर्ने राहत, सहयोग र स्वरोजगार कार्यक्रम सबै जनप्रतिनिधिहरुले आफू र आफू निकटकालाई मात्रै दिएको, अनि त्यसमापनि व्यापक अनियमितता गरेको भन्दै स्थानीय सरकार विरुद्ध नाराबाजी गरेका छन् ।

यसक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताले गाउँपालिका कार्यालय नजिक पूर्वपश्चिम लोकमार्गमा आधा घन्टा चक्काजाम गरेका थिए । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले एक कार्यक्रमको बीच आफ्नो क्षेत्रमा चक्काजाम र आफू पालिकाको अध्यक्ष रहेसम्म गुन्डागर्दी गरेपछि हातखुट्टा भाँची दिने अभिव्यक्ति दिनुभएको थियो । त्यसै अभिव्यक्तिलाई मध्यनजर गर्दै नेकपा एमालेले चक्काजाम गर्दै मैदानमा आएर आन्दोलन रोक्न नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई चुनौती दिएका थिए ।

गाउँपालिकाको मुख्य बजार लौकहीमा विरोध प्रदर्शनको र्याली निकालेका थिए । र्याली पश्चात् कार्यक्रमलाई कोण सभामा परिणत गर्दै विभिन्न वक्ताले मन्तव्य राखेका थिए । कोण सभामा एमालेका नेता सरोज पोखरेल,डीबी साह शंकर, इन्द्र पोखरेल, एमाले सुनसरी सचिव पर्शुराम यादव, जफर जमाली, अजय कुसियैत, अनिता उराँव, बाबुराम साह, रामचन्द्र यादव लगायतकाले कुनै पनि बहानामा भ्रष्टाचार गर्न नहुने र गर्नेलाई कार्वाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।