जनता टाइम्स

२२ माघ २०७८, शनिबार २०:३१

गण्डकी प्रदेशले संघीयताको जग बसाल्न महत्वपूर्ण काम गरेको थियोः पूर्व मुख्यमन्त्री गुरुङ


पोखरा, माघ २२। गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभाले विगतमा संघीयताको जग बसाल्न महत्वपूर्ण काम गरेको बताउनुभएको छ । शनिबार गण्डकी प्रदेशसभाको वार्षिक उत्सवका अवसरमा शुभकामना दिँदै गुरुङले यस्तो बताउनुभएको हो ।

‘गण्डकी प्रदेश सभाले ४ वर्ष बिताएको छ,’ एमाले प्रदेशसभा संसदीय दलका नेता समेत रहेका गुरुङले भन्नुभएको छ , ‘पहिलोपटक प्रदेश सभाका सदस्य बनेका हाम्रा काम संघीयता कार्यान्यनमा जग राख्नु थियो, त्यसमा गण्डकी प्रदेश सभाले धेरै मिहिनेत गरेर उल्लेखनीय उपलब्धिहरु हाँसिल गरेको छ ।

यी उपलब्धिहरु नेपालको आधुनिक इतिहासका महत्वपूर्ण कडी पनि हुन् । हाम्रा उपलब्धिहरुको दस्तावेजीकरण गर्नु जरुरी छ ।’ उहाँले आफ्नो बाटो आफैं निर्माण गरेर अघि बढ्ने चुनौती भएको बताउनुभयो ।

आफूले चुनौती पार गरेको भन्दै आफूलाई गौरवबोध हुने उहाँले बताउनुभयो । ‘२०७५ साल असार १८ गते सर्वसम्मत प्रदेश राजधानी पोखरालाई तोक्न र असार २२ मा प्रदेशको नामाकरण गण्डकी राख्न सफल भयौं,’ उहाँ भन्नुभयो, ‘गण्डकी प्रदेशसभालाई सत्ता र प्रतिपक्षीको साझा दायित्वका रुपमा बुझेर नै समझदारी, समन्वय र सन्तुलनबाट अघि बढाएको क्षणको स्मरण गर्दा मात्रैपनि मलाई गौरवबोध हुन्छ ।’ उहाँले कतिपय दलका कारण जनतामा संघीयता प्रति नकारात्मक धारणा विकास भएको बताउनुभयो ।