जनता टाइम्स

२७ माघ २०७८, बिहीबार १३:५६

वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, माघ २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडा अध्यक्ष शम्भु प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष यादवले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचर गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा वडा अध्यक्ष यादवसँग ३५ लाख २१ हजार २०४ रुपैयाँ ८० पैसा बिगो दाबी गरिएको छ ।

वडाध्यक्ष निर्वाचित भएपछि यादवले पदको प्रभाव पारेर पिपरा गाउँपालिका–५ मा पर्ने सुब्बा पोखरीको ठेक्का वापतको रकम ३५ लाख २१ हजार २०४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

थप अनुसन्धानु गर्दा यादवले सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको भेटिएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।