दार्चुला, ३ फागुन । दार्चुला सदरमुकाम खलंगाको पारी पट्टी महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण रोक्न नेपाल कम्युनिस्ट पार्टी विप्लवले दार्चुला प्रशासनको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्ला सचिव भरत मल्लले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको काम रोक्न अनुरोध गरेका छन् ।
पुरानो तटबन्ध संरचना भन्दा लगभग ८ मिटर वर भारतले नयाँ तटबन्ध बनाइरहेको छ । सीमा सम्बन्धी दुई देश बिचको सन्धि र सम्झौता तोड्दै भारतले सीमा नामा हैकम जमाउँदै अमानवीय घटना घटाइरहेको तथा अन्तर्राष्ट्रिय कानुनको समेत खिल्ली उडाइरहेको नेकपा विप्लवको आरोप छ । सचिव मल्लले भन्नुभयो, ‘भारतीय क्रियाकलापले हाम्रो मातृभूमि आक्रान्त बनेको छ, प्रत्येक राष्ट्रभक्त नेपालीलाई पिरोलीरहेको छ । भारतले हाम्रो सिमानामा हस्तक्षेप गरिरहेको टुलुटुलु हेरिरहने कि केही संघर्ष गर्ने ।’
राष्ट्रिय, सार्वभौमिकता तथा सीमानाको समस्या जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पुगोस् भनेर ध्यानाकर्षण पत्र बुझाएको उहाँले बताउनुभयो । दार्चुला सदरमुकामको पारि पट्टी भारतले निर्माण गरिरहेको तटबन्धको विषय गृह मन्त्रालयलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
यस विषयमा भारतको पिथौरागढ जिल्ला अधिकारीला ध्यानाकर्षण गराउँदै पत्राचार गरिएको भए पनि जवाफ नआएको उहाँले बताउनुभएको छ । केही हप्ताअघि भएको नेपाल भारत भर्चुअल सीमा बैठकमा महाकालीमा भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा कुरा उठाएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
नदीको बहाव परिवर्तन हुने गरी तटबन्ध नबनाउने र विधान सभा चुनावपछि निर्माणको क्षेत्रको अवलोकन गरी नेपाललाई जवाफ दिने पिथौरागढ जिल्ला अधिकारीले सीमा बैठकमा भनेको उहाँले जानकारी दिनुभयो । भारतले धार्चुलामा निर्माण गरेको एकतर्फी तटबन्धका कारण २०७० सालमा आएको बाढीले दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।













प्रतिक्रिया दिनुहोस्