जनता टाइम्स

५ फाल्गुन २०७८, बिहीबार ०७:४०

एमसीसीले सत्ता गठबन्धनमा तनाव, छिनोफानो गर्न प्रधानमन्त्रीले बोलाए निर्णायक बैठक


काठमाडौं, फागुन ५ । एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज बिहीबार निर्णायक छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग बिहीबार दिउँसो ३ बजे हुने छलफलबाट एमसीसीबारे छिनोफानो हुनेछ ।

बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सक्नुभएन । गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि देउवाको एमसीसी जसरी नि टेबल गर्ने योजना सफल हुन सकेन ।

गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले निर्णय गरेको छैन तर उ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि देउवाले निर्णायक छलफल गर्न लाग्नुभएको हो ।

माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार बालुवाटार पुग्नुभयो । जहाँ उहाँले पार्टीको निर्णय र आफ्नो बाध्यताबारे प्रधानमन्त्रीलाई भन्नुभएको थियो ।

आफ्नो पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डले देउवासँग बताउनु भएको छ । चुनाव नजिकिएको भन्दै उहाँले एक वर्षपछि सार्न प्रयास गर्न देउवालाई आग्रह गर्नुभएको थियो । तर देउवाले त्यसमा सहमति जनाउनु भएन ।

तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहनु भएका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने उहाँको भनाइ थियो । एक्ला एक्लै भएको भेटबारे दुवै नेताले आफूहरु निकट नेतालाई जानकारी गराएका थिए ।

गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दलनै बिरोधमा उत्रिँदा आफू समस्यामा परेको देउवाको भनाइ थियो । पार्टीले गठबन्धनमा कुरा नमिले पनि अघि बढ्नु पर्ने दबाब दिइरँदा सहयात्री दलको यस्तो निर्णयले समस्या पर्ने बताउनु भयो ।

त्यसपछि देउवाले भन्नुभयो, ‘यसरी अघि बढ्न समस्या हुन्छ, गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गरौं ।’ देउवाको प्रस्तावलाई प्रचण्डले स्वीकार गरेपछि आज बैठक बोलाइएको हो।