काठमाडौं, फागुन ५ । परिवारका सदस्यसँग बसेर सुन्नै नसकिने आमाचकारी शब्द प्रयोग गरी अपहरणको धम्की दिने पर्यटनमन्त्री प्रेम आलेको अर्काे गैरकानूनी काम बाहिर आएको छ । मन्त्री आलले मुगुको रारा छायाँनाथ नगरपालिकामा रहेको रारा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ८ को प्रक्रिया पुरा नगरी संघीय सांसद गोपाल बमलाई होटल सञ्चालनका लागि अनुमति दिनुभएको पाइएको छ ।
रारा राष्ट्रिय निकुञ्ज अन्तर्गत ‘रारा रामसार लेक साइट मेनेजमेन्ट प्लान’ समेत स्वीकृत भइसकेको अवस्थामा परिसरमा रहेका सैनिक क्याम्पलगायतका भौतिक संरचनाहरु त्यसक्षेत्र बाहिर लैजानुपर्नेमा उल्टै पाँच वर्षका निमित्त म्याद थप गरिएको छ । नारायणहिटी संग्राहलयमा बतास ग्रुपले तयार गरेको संरचना हटाए पनि पर्यटन तथा नागरिक उड्ययनमन्त्री मन्त्री आलेले आफैले निर्णय गरी आफ्ना पार्टीका सांसद बमको होटललाई वातावरणीय अध्ययन प्रतिवेदनबिनै २०७८ जेठ ७ गते पहुँचका आधारमा मन्त्रीस्तरीय निर्णयबाट म्याद थप गरिदिनु भएको हो ।
नेपालको कुनैपनि राष्ट्रिय निकुञ्ज, आरक्ष क्षेत्र, संरक्षित क्षेत्र, शिकार आरक्षण क्षेत्रमा सर्वोपरी हितबाहेक अन्य कुनैपनि ब्यापारिक प्रयोजनका लागि सेवा सञ्चालन गर्न पाइदैन । हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६ को नियम ६ मा राष्ट्रिय निकुञ्जभित्र निषेधित कार्यहरु कानुनी प्रक्रिया पुरा नगरी निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रको सर्वोपरी हितको निमित्त नभई व्यक्तिगत मुनाफाका लागि ठाडो आदेशबाट मन्त्रीस्तरीय निर्णय गरी राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा चर्चित रारा तालको किनारामा यो होटल सञ्चालन गर्न अनुमति दिइएको छ ।
मिडिया लिएर आफ्नो प्रचार गराउँदै हिडनु भएका मन्त्री आलेले राजश्व उठाउन लागेको नौटंकी गरे पनि आफ्नै पार्टी नेकपा (एकिकृत समाजवादी) का संसद गोपाल बमलाई भने छुट दिनुभएको छ । यो छुटमा आलेले राम्रै शुभलाभ प्राप्त गरेको स्रोतको दाबी छ । मुगु र जुम्ला जिल्लासम्म फैलिएको रारा राष्ट्रिय निकुञ्जमा पाँच किमी लम्बाई र ३ किमी चौडाई भएको १६७ मिटर गहिरो रारा तालको अन्तर्राष्ट्रिय महत्वलाई समेत होटलका संरचनाले कुरुप बनाउने छ ।
रारा तालको स्वच्छता, सुन्दरता र अस्थित्वमा नै संकट पार्ने अवस्थाको सिर्जना भएको छ । यसबाट बिभिन्न खालको चराचुरुङ्गीहरु लोप हुने अवस्था पनि सिर्जना नहोला भन्न सकिदैन । साथै हालसम्मको अध्ययनले वन्य जन्तुहरु पनि होटलकै नजिक गैर कानुनी तरिकाले मार्ने कामहरु भइरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका होटलहरु नजिकै गैडाहरु मारिने क्रम बढेपछि संरक्षणविदहरुले हटाउन सुझाव दिएका थिए ।
जसका कारण लोपन्मुख चराचुरुङ्गी र वन्यजन्तुहरु नै लोप हुने अवस्था छ । यसरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ६ बमोजिम राष्ट्रिय निकुञ्ज वा आरक्षभित्र कुनै सेवा सञ्चालन गर्न दिँदा कुनै कार्य विधि नै नबनाई सोही स्थानमा पुन सञ्चालन गर्न पाउने २०७८ जेठ ७ गते होटलको म्याद ५ वर्ष थप्ने कार्य गरिएको छ । निकुञ्जभित्र होटल सञ्चालन गर्न दिने गरी निर्णय गर्दा पनि कुनै टेण्डर सूचना प्रकाशन गरिएको छैन ।
मुगु जिल्लाबाट नेकपा एमालेकातर्फ निर्वाचित सांसद गोपाल बम पछिल्लो पटक किसान श्रेष्ठ, प्रेम आलेसँगै माधव नेपालको पक्षमा लागेर शेरबहादर देउवालाई प्रधानमन्त्री बनाउन मत हाल्नुभएको थियो । उहाँहरु हाल नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । कौडीको मूल्यमा लिज सम्झौता गरी दिइएको होटलले मासिक लाखौं रुपैया आम्दानी गर्ने गरेको छ । तर, बमलाई मासिक ६ हजार मात्रै भाडा तिर्ने गरी पाँच वर्षको लागि लिजमा दिइएको हो ।
सांसद बमले यो होटल २०५६ सालदेखि नै लिजमा लिएर सञ्चालन गर्दै आउनु भएको छ । यस विषयमा प्रतिक्रियाका लागि सांसद बमको मोबाइलमा पटक पटक सम्पर्क गर्दा पनि सफल हुन सकेन ।












प्रतिक्रिया दिनुहोस्