जनता टाइम्स

६ फाल्गुन २०७८, शुक्रबार १२:५५

माधवलाई मन्त्रीहरुको बटमलाइन : जेसुकै होस सरकार छाडनु हुन्न


काठमाडौं, फागुन ६ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले सरकारबाट हटने कुरा नगर्न अध्यक्ष माधवकुमार नेपाललाई धम्की दिनुभएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्च कर्पाेरेशन (एमसीसी) को बिषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग दुरी बढेपछि सरकारमा सहभागी नेकपा एकका मन्त्रीहरुले जुनसकै अवस्था आए पनि सरकारबाट हटने भूल गर्न नहुने दवाव नेपाललाई दिएका हुन ।

देउवा सरकारमा नेकपा एकीकृत समाजवादीबाट बिरोध खतिवडा, किसान श्रेष्ठ, प्रेम आले, रामकुमारी झाँक्री, भवानी खापुङ मन्त्री हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीका एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार सरकार छाडने कुरै नगर्नाेस भन्दै पर्यटनमन्त्री आले र श्रममन्त्री श्रेष्ठले अध्यक्ष नेपाललाई धम्की दिनुभएको छ । सरकार छाडे अन्तिम समयमा आफूहरुले गरेको लगानी र मेहनत खेर जाने निश्कर्ष पनि मन्त्रीहरुले सुनाएका छन ।

मन्त्रीहरुको यो दवावसँगै माधवले आज बसेको बालुवाटार बैठकमा आफूले स्थायी कमिटी बैठक बोलाइसकेको कारण बैठकबाटै निर्णय गराउने भन्दै एमसीसीको बिषयमा लचकताका साथ प्रस्तुत भई समय माग्नुभएको ती नेताले बताए । ‘अध्यक्ष माधव एमसीसीको पक्षमा हुनुहुन्छ, झलनाथ खनालले आपत्ति जनाउनु भएको छ, मन्त्रीहरुले भने एमसीसीको नाममा सरकार छाडे महाभूल हुने भन्दै त्यस्तो काम नगर्न भन्नुभएको छ,’ ती नेताले भने ।

तीन दिन अघि भातृसंस्थालाई एमसीसीको बिरोधमा सडकमा उतार्नुभएका अध्यक्ष नेपालले बिहीवारबाट कुरा फेर्नुभएको छ । उहाँले धेरै बोल्दा बिग्रियो भन्दै एमसीसीको बिषयमा बोल्न छाडनु भएको हो । मन्त्री आले र श्रेष्ट प्रधानमन्त्री शेरबहादुर देउवासँग पहिला सेटिङ मिलाएर अन्तिम समयमा एमालेबाट बिद्रोह गरेको भन्दै मन्त्री खान नेकपा एकीकृत समाजवादीतिर लाग्नुभएको हो ।

उहाँहरु दुवै जना आगामी निर्वाचनमा कांग्रेसबाट चुनाव लडने योजना बनाइरहनु भएको छ । श्रममन्त्री श्रेष्ठले त तनहुँ पुगेर आफू निकटसँग नेकपा एस पार्टीको भविश्य छैन, चुनाव त हसिया हथौडा वा रुख चिन्हबाट लडने हो भन्न थाल्नुभएको छ । उहाँको सो कुरा सुनेपछि निकट भनिनेले समेत साथ छाडेका छन ।