जनता टाइम्स

७ फाल्गुन २०७८, शनिबार १६:४७

एमसीसीकै पक्षमा उभियो एकीकृत समाजवादी, निकाल्यो सम्झौता संसदमा टेबल हुन दिनुपर्ने निष्कर्ष


काठमाडौं, फागुन ७ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले संसद सचिवालयमा दर्ता भएको अमेरिकी सहयोग एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा टेबल गर्न दिनुपर्ने निष्कर्ष निकालेको छ ।

स्थायी कमिटीको शनिबार बसेको बैठकमा एमसीसीलाई पास वा फेल जे भए पनि छलफलका लागि टेबल गर्न दिनुपर्ने निष्कर्ष निस्किएको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार सार्वभौम संसदमा छलफल भएर देशको हितका पक्षमा निर्णय हुनुपर्ने पार्टीले ठहर गरेको छ । एमसीसीका कारण गठबन्धन टुट्न नहुने निचोडसमेत नेकपा एसले निकालेको छ । एमसीसी राष्ट्रघाती रहेको भन्दै जनसंगठनलाई सडकमा उतारेको सो पार्टीको यो निर्णसँगै गठबन्धन जोगाउन एमसीसी पारित गर्ने निर्णयमा पुगेको हो ।

यद्यपि यसका कतिपय प्रावधान संशोधन हुनुपर्ने पार्टीको अडान भने यथावत रहेको सो पार्टीले जनाएको छ ।