जनता टाइम्स

८ फाल्गुन २०७८, आईतवार ०७:३३

कार्यव्यवस्था समितिको बैठकपछि संसद बैठकको कार्यसूचीमा एमसीसी राख्ने सरकारको तयारी


काठमाडौं, फागुन ८ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। तर, आइतबार दिउँसो १ बजे बोलाएको संसदको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यसूचीमा राखिएको छैन।संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७ /०७८ पेश गर्नेमात्रै कार्यसूची छ।

आइतबार बिहान संसद् बैठक अगाडि सत्ता गठबन्धनको बैठक बस्दैछ। यसअघि सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपनि शुक्रबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीले शनिबार पार्टीको स्थायी कमिटी बैठक बस्ने भएकाले पर्खन आग्रह गरेको थियो। सोही अनुसार शुक्रबारको कार्यसूचीमा पनि एमसीसी राखिएको थिएन।समाजवादीको आजको बैठकले संसदमा एमसीसी टेबल हुन दिने निर्णय गरेको छ। बैठकले सहमति जुटेमा, संसदको गतिरोध हटेमा एमसीसी संसदमा टेबल हुन दिने निर्णय गरेको हो।सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर एमसीसीलाई कार्यसूचीमा राख्ने र संसद्‍ बैठकमा टेबल गर्ने तयारी गरेको छ। सरकारले आफ्ना एजेन्डाहरू अघि बढाउन कार्यव्यवस्थामा सभामुख र दलहरूसँग औपचारिक आग्रह गर्ने चलन छ।

कानुनमन्त्री समितिका पदेन सदस्य हुन्छन्। सरकार र संसद्बीच समन्वयकर्ताको भूमिका निर्वाह गर्ने जिम्मेवारी कानुनमन्त्रीकै हुन्छ। कार्यव्यवस्थाको बैठकमा एमसीसीबारे छलफल भए कार्यसूची संशोधन गरेर राख्न सकिने संसद् सचिवालयले जनाएको छ।