जनता टाइम्स

१२ फाल्गुन २०७८, बिहीबार १५:३४

अदालतको आदेश उल्लङ्घन गर्ने मेयरद्धारा स्थानीय आतंकित


मोरङ, १२ फागुन । मोरङस्थित रतुवामाई नगरपालिकाका मेयर रबिन राईले जिल्ला अदालत मोरङको आदेशलाई उल्लङ्घन गरी सडक विस्तार गर्ने नाममा स्थानीयवासीलाई आतंकित बनाउनुभएको छ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ सिजुवा बजार चोकमा सडक विस्तार गर्दा दुबैतर्फ बराबरी जग्गा लिनु पर्नेमा दक्षिणतर्फमात्र एकतर्फी रुपले नाला निर्माण गरी धमाधम ग्राभेल भर्ने काम गरिरहेका छन ।

जसले गर्दा सडकसंग जोडिएका स्थानीयवासी दिलिपकुमार भटराई, कमला वस्नेत, हरिप्रसाद शिवाकोटीको नम्बरी जग्गा आवश्यकता भन्दा बढी अतिक्रमणमा परेको छ । स्थानीयवासीले नगरपालिकाले पूर्वाग्रहपूर्ण ढंगले गरेको जबजस्ती हस्तक्षेपको विरुद्धमा मोरङ जिल्ला अदालतमा निवेदन दिएकोमा अदालतले मिति २०७७ चैत्र २७ गते सम्बन्धित व्यक्तिको जग्गा पर्ने गरी कुनै पनि निर्माण कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।

तर, अहिले मेयर राईले जबरजस्ती नाला निर्माण गरी धमाधम ग्राभेल गराइरहेका छन । जसले गर्दा सम्बन्धित स्थानीयवासीहरु मर्कामा परेका छन । यसका लागि उनीहरुले जग्गा किचलोको मुद्दा जिल्ला अदालत मोरङमा पेश गरिरहेको छन । यसैबीच स्थानीयवासी हरिप्रसाद शिवाकोटीले ततकाल जग्गा अतिक्रम कार्य रोक्नु पर्ने बताउनु भएको छ ।

नियमतः नगरपालिकामा सडक विस्तार गर्दा स्थानीयवासीको जग्गा पर्ने भएमा नक्सामा रहेको बाटोको दुबैतर्फ बराबरी जमिन लिनु पर्ने हुन्छ । तर, नगरपालिकाले ऐन कानुन, नियम र अदालतको आदेशलाई समेत वेसास्ता गरी पूूर्वाग्रहको आधारमा दक्षिण तर्फमात्र स्थानीयवासीको जग्गा अतिक्रमण गरेको छ ।