काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गर्नुभएको छ । आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाव बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्न र सरकारबाट नबाहिरिने प्रस्ताव गर्नुभयो । तर, यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्नुभएको छ ।
सरकारमा रहेर सरकारकै प्रस्तावको विपक्षमा मतदान गर्न नमिल्ने भन्दै उहाँले एमसीसीको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । एमसीसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्न नसक्ने प्रचण्डको जिकीरपछि प्रधानमन्त्री देउवाले आफ्नो पार्टीका मन्त्रीलाई राजीनामा दिन लगाउन प्रचण्डलाई भन्नुभएको छ ।
एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने हो भने माओवादीबाट मन्त्री भएकालाई बर्खास्त गर्ने चेतावनी प्रचण्डलाई प्रधानमन्त्री देउवाले दिएको स्रोतको भनाइ छ । ‘तपाईंहरू एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहन मिल्दैन,’ प्रचण्डलाई प्रधानमन्त्री देउवाले भनेको उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदी एमसीसीको विपक्षमा मतदान गरेर सरकार बसे म तपाइँको पार्टीका मन्त्रीलाई बर्खास्त गर्छु ।’
यसअघि बुधबार प्रधानमन्त्रीको सूचना लिएर खुलमटार पुगेका गृहमन्त्री बालकृष्ण खाँणसँग पनि प्रचण्डले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारमा बसिरहने बताउनुभएको थियो । यसपछि गृहमन्त्री खाँण एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उहाँकै निवास बालकोट पुग्नुभएको थियो । बुधबार गृहमन्त्री खाँणमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशअनुसार नै आज देउवासँग प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गर्नुभएको हो ।
यसैबीच, आज अपरान्ह प्रधानमन्त्री देउवासहित कांग्रेसका शीर्ष नेता र अध्यक्ष ओलीसहित एमाले शीर्ष नेताबीच भेटवार्ता भएको छ । एमसीसीमाथि छलफल गर्ने गरी आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोली दिउँसो १ बजेसम्मका लागि स्थगित भएपछि कांग्रेस र एमालेका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।













प्रतिक्रिया दिनुहोस्