काठमाडौं, फागुन १३ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुख अग्नि सापकोटाको शैलीप्रति कडा आक्रोश पोख्नुभएको छ । सभामुखले सरकारलाई असहयोग गर्दै हुनै नभएको काम गर्न थालेको भन्दै कार्की आक्रोशित बन्नुभएको हो ।
उहाँले संसदमा सैद्धान्तिक छलफलमा मत विभाजनको प्रचलन नरहेको तर सभामुख त्यसैतिर जाने षडयन्त्रमा रहेको बताउनु भयो । बिहीबार राति नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले संसदीय परम्परा र अभ्यासमा सरकारले ल्याएको प्रस्ताव, सैद्धान्तिक छलफललाई मत विभाजन गरेर लाने परम्परा नरहेको बताउनु भएको हो । अहिले गठबन्धन कायम रहेको र यो प्रस्ताव गठबन्धन नेतृत्वको सरकारले ल्याएकोले यसमा छलफल हुने उहाँको विश्वास थियो ।
‘२०४८ सालदेखि संसदीय परम्परा र अभ्यासमा सरकारले ल्याएको प्रस्तावलाई सैद्धान्तिक छलफललाई मत विभाजन गरेर लाने परम्परा छैनु कार्कीले भन्नुभयो,’ यदी सरकारले ल्याएको प्रस्तावलाई यसरी मत विभाजन गर्न थाल्यौं भने भोलि कुनै पनि सरकारले ल्याएका प्रस्तावहरुमा छलफल नै नहुने परिस्थितिको सिर्जना हुन सक्छ ।’
बहुमत नभइ सरकार नबन्ने भएकाले प्रस्तावमा मतदान गर्न आवश्यक नरहेको उनको भनाइ छ । ‘बहुमत नभइ सरकार बन्दैन र बहुमत प्राप्त सरकारले ल्याएको प्रस्तावमा छलफल हुँदैन भने त्यो सांसद र प्रतिनिधि सभाको के काम ?’ प्रवक्ता कार्कीले भन्नुभयो, ‘त्यसैले शुक्रवार (आज) को बैठकमा सैद्धान्तिक छलफल प्रारम्भ हुनेछ त्यसपछि यसमा गहन र सार्थक बहस भएर एमसीसीलाई हामी एउटा निष्कर्षमा पुर्याउनु छ ।’













प्रतिक्रिया दिनुहोस्