जनता टाइम्स

१४ फाल्गुन २०७८, शनिबार १९:१८

सकियो बालकोट वार्ता, निस्किएन निष्कर्ष


काठमाडौं, १४ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेसका नेताहरुको छलफल विनानिष्कर्ष टुंगिएको छ । कांग्रेसका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा एवं नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल सहभागी हुनुभएको थियो ।

गठबन्धनबाटै एमसीसी अनुमोदन गर्न माओवादी अध्यक्ष प्रचण्डले दौडधूप बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीचको वार्ता निष्कर्षविहीन भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दुवै पार्टीका दोस्रो तहका नेता छलफलमा रहनुभएको थियो ।

प्रतिनिधिसभालाई सुचारु गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने आफूहरुको प्रस्ताव एमालेले स्वीकार नगरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । एमाले महासचिव पोखरेलले भने एमसीसीका बारेमा गठबन्धनको राय प्रष्ट हुनुपर्ने बताउनुभयो । जबसम्म सरकारले र सत्ता गठबन्धनको धारणा आउँदैन तबसम्म प्रतिपक्षको धारणाको अर्थ नहुने पोखरेलले सुनाउनुभयो ।