जनता टाइम्स

१५ फाल्गुन २०७८, आईतवार १६:५३

एमसीसी सहयोग परियोजनाबाहेक केही होइन : भट्टराई


काठमाडौं, १५ फागुन । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसी सम्झौता नेपाल र अमेरिकाबीचको सहयोग परियोजनाबाहेक केही नभएको बताउनुभएको छ । उहाँले एमसीसीलाई दलका नेताहरूले नै गिजोलेर बिगार्ने काम गरेको बताउनुभयो । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले सम्झौतामा आपत्ति जनाउनुपर्ने विषय केही पनि नभएको दाबी गर्नुभयो ।

‘एमसीसी सामान्य अनुदान थियो, तर हामीले यसरी कोट्यायौं कि यो कुहिएर गन्हाउने अवस्थामा पुगेको छ । हामीले गिजोलेर यसलाई विषाक्त गरिएको छ । हामी बोल्न डराइरहेका छौं, आफ्नै क्षेत्रमा जान डराइरहेका छौं,’ उहाँले भन्नुभयो, ‘तर यो सहयोग परियोजनाबाहेक केही पनि होइन ।’ अध्यक्ष भट्टराईले जनताको सार्वभौम अधिकारमा हनन् भएको भन्दै क्षमा समेत माग्नुभयो ।

‘जनताको सार्वभौम सत्ता प्रतिनिधिसभामार्फत् अभिव्यक्त हुन्छ । म दुःखका साथ भन्छु, गत ६ महिनादेखि प्रतिनिधिसभालाई जसरी बन्धक बनाएका छौं, यसले जनताको सार्वभौम अधिकारको अपमान भएको छ, म क्षमा माग्न चाहन्छु,’ उहाँले भन्नुभयो । उहाँले एमसीसीलाई बद्लिदो भू–राजनीतिको शिकार बनाउन खोजिएको भन्दै त्यसमा चनाखो हुन आवश्यक रहेको बताउनुभयो ।