जनता टाइम्स

१७ फाल्गुन २०७८, मंगलवार १८:५८

एमसिसीका कारण पार्टी फुटको डिलमा पुगेपछि नारायणकाजीलाई फकाउन प्रचण्ड हात्तीवनमा


काठमाडौं, फागुन १७ । सत्तारुढ नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई फकाउन मंगलबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रेष्ठ निवास हात्तीवन पुग्नुभएको छ ।

अध्यक्ष प्रचण्डकै अगुवाइमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्बाट व्याख्यात्मक घोषणासहित पारित गरिएपछि रिसाएका श्रेष्ठले पार्टी नै छाड्ने सूचना चुहिएपछि उहाँलाई फकाउन प्रचण्ड हात्तीवन पुग्नुभएको हो । संसद्बाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार अध्यक्ष प्रचण्डले खुमलटारमा गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले कार्यकर्ता र जनता बटुल्न त्यसो गरेको भनेर आरोप लगाउनुभएको थियो ।

नेता बामदेव जस्तै हुने भए भनेर कटाक्ष समेत गर्नुभएको थियो । उहाँले एमसीसी अनुमोदन भएकै रात सामाजिक सञ्जालमार्फत फागुन १५ कालो रात भन्दै विरोध जनाउनुभएको थियो । सोमबार प्रचण्डको अभिव्यक्तिलाई लिएर आक्रोशित नारायणकाजीले आफूले पार्टी छाडेर जान नखोजेको जवाफ दिनुभएको छ । मैले पार्टीबाट हट्ने, पार्टी छाड्ने कुरा गरेको होइन। तर तपाईंले नै छाडेर जा भन्नु भयोु, उहाँले प्रचण्डलाई भन्नुभयो तपाईंले नै वामदेव जसरी पार्टी छाडेर जानेलाई रोक्न नसकिने भनेपछि सोच्नुपर्ने अवस्था आयो। एमसीसीकै कारण प्रचण्ड–श्रेष्ठको सम्बन्धमात्रै होइन पार्टीका कयौँ नेतासँग प्रचण्डको सम्बन्ध चिसिन पुगेको छ । तर, उहाँहरु सार्वजनिक रुपमा भने देखिएका छैनन् ।