सुर्खेत, फागुन २१ । । नेपालगन्जबाट व्यवसायीक सामान बोकेर कालिकोट जाँदै गरेका कालिकोटका एक व्यापारीको सुर्खेतमा मृत्यु भएको छ । नेपालगन्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर कालिकोट तर्फ जाँदै गर्दा कालिकोट तिलागुफा नगरपालिका–३ का २५ वर्षीय मिन हमालको प्रहरीको कुटाईबाट सुर्खेतमा मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
व्यापारी हमाल नेपालगञ्जबाट शुक्रबार बेलुका ट्रकमा सामान राखेर कालिकोट जादैँ हुनुहुन्थ्यो । त्यही क्रममा सुर्खेत वीरेन्द्रनगरस्थित सुब्बाकुना प्रहरी चेकपोष्टमा सामान बढी हालेको बिषयमा प्रहरीसँग वादविवाद भएको थियो । विवादकै क्रममा प्रहरीले मापसे गरेर प्रहरीसँग निहु खोजेको भन्दै कुटेको हमालको आफन्तको आरोप छ । नेपालगन्जबाट भे१क ९२२ नम्बरको ट्रकमा सामान लिएर हिँडेका उहाँलाई सुब्बाकुना प्रहरीले मरणासन्न हुने गरी कुटेको आफन्तले बताएका छन् । मृत्तकका काका कलमबहादुर हमालका अनुसार गाडीका दुई जना स्टाफलाई प्रहरीले कुटेपछि यसो नगर्न हमालले आग्रह गर्नुभएको थियो । यसो नगर्न भनेपछि उहाँमाथिनै प्रहरी जाइ लागेको कमलबहादुरले बताउनुभयो ।
‘प्रहरीले तल्लो पेट र अण्डकोषमा प्रहार गरेको थियो ।’ उहाँले भन्नुभयो । हमालको शव सुर्खेत हस्पिटलमा राखिएको छ । कालिकोटबाट आफन्त आउँदै गरेको जनाइएको छ । हमालको मृत्यु शंकास्पद भएकाले छानवीन हुनुपर्ने मृतकका छिमेकी रनबहादुर खत्रीले माग गर्र्नुभएको छ । के कति कारणले मृत्यु भयो भन्ने बारे अनुशन्धान भइरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले बताउनुभयो । ‘कुटपिटपछि मृत्यु भन्ने खबर आयो ।’ उहाँले भन्नुभयो ‘विस्तृत विवरण बुझ्दैछौं । अनुसन्धानपछि सबै खुल्नेछ ।’ हमालको कालिकोटका तिलागुफा नगरपालिका–१ मा व्यापार गर्दै आउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्