जनता टाइम्स

२१ फाल्गुन २०७८, शनिबार १८:१२

मधेस र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु


धनुषा, २१ फागुन । आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एक–एक पटक उडान हुने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित १८ सदस्यीय टोली मधेस प्रदेशको भ्रमणमा आउनुभएको छ । तीनदिने मधेस प्रदेशको भ्रमणमा आएका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरणमन्त्री शुत्रधन महतोले स्वागत गर्नुभएको थियोे ।

भ्रमण टोलीमा मुख्यमन्त्री पोखरेलसहित अर्थमन्त्री रामजीप्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल, गण्डकी प्रदेशका मुख्यसचिव रविलाल पन्थ, पर्यटन उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेललगायत सहभागी रहनुभएको छ ।

मधेस प्रदेशका उद्योग पर्यटन तथा वातावरणमन्त्री महतोका अनुसार मुख्यमन्त्री पोखरेलको सबैभन्दा पहिले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजै उहाँले जनकपुर–जयनगर रेलको अवलोकन गर्ने र त्यसपछि धार्मिकस्थल धनुषाधामको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री पोखरेलले दुवै प्रदेशलाई समृद्ध बनाउने मुख्य आधार पर्यटक रहेको बताउँदै उहाँले भन्नुभयो,‘दुवै प्रदेशको समृद्धिको मुख्य अधार पर्यटन भएकाले पर्यटकीय करिडोर बनाउने आधार र सम्भावना पहिचान गर्ने र सम्भावना देखिएको योजनामा मधेससँग सहकार्य गर्नेछौँ ।’ उहाँले सङ्घीयतालाई संस्थागत गर्न, मजबुत बनाउन र प्रदेश सरकारको सम्बन्ध सुदृढ हुनुपर्ने मान्यताका साथ भ्रमणका लागि आएको बताउनुभयो ।