जनता टाइम्स

२३ फाल्गुन २०७८, सोमबार १७:२६

प्रचण्डको पारिवारीक मोह : थपिएका केन्द्रीय सदस्यमा छोरीज्वाइँ, पीएदेखि रामनारायण विडारीसम्म


काठमाडौं, २३ फागुन । नेकपा माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य थप गरिएको छ। नया केन्द्रीय सदस्य थपेसगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् । आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत हुनुहुन्छ। मोरङका आचार्य गंगाका पति हुनुहुन्छ । यसअघि २८ पौषमा २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित परिवारका ४ जना परेका थिए । त्यतिबेला प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए ।

आज वत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी केन्द्रीय समिति बैठकमा ९७ जनाको सिफारिस गर्दा अध्यक्ष दाहालका छोरी, ज्वाइँ, स्वकीय सचिव (पीए) देखि राष्ट्रियसभा सदस्यको कार्यकाल पूरा गरी हालै बाहिरिएका रामनारायण विडारीसम्म समेटिए । खसआर्य महिलाअन्तर्गत बागमतीबाट गंगा दाहाल खसआर्य युवाअन्तर्गत प्रदेश १ बाट ज्वाइँ जीवन आचार्य चुनिए । यस अघि प्रचण्डले जेठी छोरी चितवन भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई केन्द्रीय सदस्य बनाइसकेका छन् भने केही नेताहरुको दम्पती नै केन्द्रीय समितिमा अटाएका थिए प्रचण्डले ।

त्यसैगरी आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा अध्यक्ष दाहालले बुहारी बिना मगर र भाई नारायण दाहाललाई पनि केन्द्रीय सदस्य अटाउनुभएको थियो । यसपालि भने प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई खसआर्य युवातर्फ गण्डकीबाट सूचीमा राखिएको छ। वाईसीएल अध्यक्ष सुमन देवकोटा, माओवादी उपत्यका विशेष प्रदेश सचिव एवं राष्ट्रिय युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत परेका छन्।

खस आर्य पुरुषबाट रामनारायण विडारी परेका छन्। जनजाति पुरुषतर्फ अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जीत तामाङ केन्द्रीय समितिमा समेटिएका छन्।अध्यक्षले प्रस्तुत गरेका खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामलाई केन्द्रीय समितिले पारित गरेपछि केन्द्रीय सदस्यहरु चयन हुनेछन्।यससँगै माओवादी केन्द्रीय समिति ३४३ सदस्यीय बनेको छ। यसअघि पुसमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो।