भक्तपुर, २४ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एमालेको नेतृत्वमा सरकार भए पनि नभए पनि जिल्लाको विकास निर्माणमा नरोकिने उद्घोषका साथ विभिन्न आयोजनाहरुको शिलान्यास तथा उद्घाटनलाई तिव्रता दिइरहनुभएको छ । शहरी विकास तथा भवन निर्माण विभागको रु ७० लाखको लागतमा सूर्यविनायक नगरपालिका वडा नं. ३ र ४ को सिमानामा पर्ने व्रम्हनगर नयाँ बस्तीमा हिम पाइप विस्तार अर्थात ढल निर्माणको सांसद बस्नेतले शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले कांग्रेसलाई लक्षित गर्दै विगतमा भक्तपुरमा राजनीतिक आडको भरमा सार्वजनिक जग्गा कब्जा गरि जनतालाई दुःख दिएको उल्लेख गर्नुभयो । नीजि जग्गामा खोला बगेर जाने र खोलाको जमिन भूमाफियाले बेच्ने गरेको तथ्य जनताको माझमा प्रष्ट पार्दै नेता बस्नेतले सूर्यविनायकमा सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका विकासका कामहरु व्यापकमात्रामा भइरहेको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो, ‘गफ र विरोधले विकास आउँदैन । चिया पसलमा बसेर विकासको गफ गर्न तथा विरोध गर्न सजिलो छ तर काम गर्न कठिन छ । कार्यान्वयव गर्न गफ गरे जस्तो सजिलो छैन । जनताको मन जितेर मात्र काम हुन सक्छ । विकासको विरोध गर्नेले एमालेका जनप्रतिनिधिलाई गरेको गाली उनीहरुलाई फर्किने छ । विकासका विरोधी र लोकतन्त्रको कुरा गरी अधिनायकवादी सोच भएका नेतालाई आगामी निर्वाचनमा जनताले पराजीत गराउने छन् । जनताले आँखा चिम्लेर धम्कीका भरमा भोट जनताले दिने छैनन् । भ्रमबाट जनता मुक्त हुनुपर्छ ।’
विगतमा कांग्रेसलगायतका दलहरुले सूर्यविनायक वडा नं। १ र २ लगायतका ठाउँहरुमा धम्कीका भरमा जनताको हक अधिकारलाई कुण्ठित गर्ने गरेको उल्लेख गर्दै उहाँले अबका दिनमा विगतको जस्तो धम्कीका भरले जनताको अधिकार कुण्ठित गर्ने सपना नदेख्न चेतावनी चेतावनी दिनुभयो । हिजो सार्वजनिक जग्गा बेच्ने, जाली, फटाहा तथा कुतत्व बोक्नेहरु हनुमन्ते नदीमा निर्माणाधिक करिडोरको विरोध गरिरहेको भन्दै आक्रोस समेत जनाउनुभयो ।कांग्रेसका नेताले समेत भक्तपुरको इतिहासमा सवैभन्दा बढी बजेट ल्याई विकासका काम भएको तथ्य सार्वजनिक गर्दै नेता बस्नेतले भक्तपुरका जनताले विगतमा निर्वाचित गराएका तथा विकास नगर्ने पार्टी भनेको कांग्रेसले मात्रै भएको बताउनुभयो ।
विकासमा आग्रह पूर्वाग्रह नहुने उल्लेख गर्दै उहाँले केपी ओलीको सरकारको पालामा महंगी ३।५ प्रतिशत रहेकोमा अहिलेको सरकार आएसँगै ७।५ प्रतिशत पुगेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘वालकुमारी रानीकोट सडक कांग्रेसका वडाहरुमा नै ४० प्रतिशत रहेको छ । कांग्रेसका नेताको घरमा सडक पुर्याउन महेश बस्नेत नै चाहियो । एमालेको सरकार होस् वा नहोस् विकासका कामहरु हुन्छन् । कसैले निषेध गर्छु भनेर सपना नदेखे हुन्छ । दुई चार जनाको गुण्डागर्दीले केही हुने वाला छैन । वर्तमान गठबन्धनको सरकार जनताको विकास र समृद्धिको सपना पुरा गर्ने नभई आफ्नो स्वार्थ पुरा गर्न मात्र बनेको हो । जसले देशमा महंगी चरम विन्दुमा पुर्याएको छ । जनताले छाक टार्न कठिन अवस्था पुगेको छ । सरकारको जनता प्रति कुनै जवाफदेहिता छैन । केपी ओलीको सरकारको पालामा महंगी ३।५ प्रतिशत रहेकोमा अहिलेको सरकार आएसँगै ७।५ प्रतिशत पुगेको छ ।’













प्रतिक्रिया दिनुहोस्