जनता टाइम्स

२४ फाल्गुन २०७८, मंगलवार १२:५३

माओवादीद्वारा नगरप्रमुखमाथि कारबाही


काठमाडौँ, २४ फागुन । औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया (अग्रवाल)लाई माओवादी केन्द्रले कारबाही गरेको जनाएको छ ।

माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्काशन गरेको जनाएका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टी नगर कमिटी इन्चार्जको जिम्मेवारी समेत रहेका अग्रवाल आफ्नै पार्टी कमिटीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टीको शक्ति र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि जिल्ला पार्टी कमिटी मोरङले २०७८ वैशाखमा निजलाई पार्टीको विधान धारा ५७ (२) बमोजिम रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारीबाट निलम्बन गरी अनुशासनको स्पष्टीकरणसमेत सोधि पार्टी सदस्यता खारेजीको लागि प्रदेश कमिटीलाई सिफारिस गरिएको थियो ।

स्पष्टीकरणमा निजले पालिकाको कामले पार्टीमा समय दिन नसकेको र पार्टी हित विपरीत जाने आफ्नो मनसाय नरहेको भनि जवाफ दिएतापनि आजसम्मको राजनीतिक गतिविधिमा पार्टी गोपनियता भंग गरेको, पार्टी अनुशासन नमानेको र वर्ग विरोधी क्रियाकलापमा लिप्त भएको कारण २०७८/११र१५ बाट लागू हुनेगरी नगर पार्टी कमिटीको सिफारिस अुनसार दिलिप कुमार अग्रवाल नेकपा (माओवादी केन्द्र) पार्टीको सधारण सदस्य समेत खारेजी गर पार्टीको कुनै आधिकारिक व्यक्ति नरहेको व्यहोरा सबैमा अवगत गराउँदछौं ।’

मेयर बगडियालाई पार्टीको चुनाव चिन्हबाट नगर प्रमुखमा निर्वाचित भएकोले नगर प्रमुख पदबाट निस्कासन गर्न पार्टीको केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगलाई सिफारिस गरेको पनि माओवादी केन्द्रले जनाएको छ ।