जनता टाइम्स

२६ फाल्गुन २०७८, बिहीबार १०:१८

एनआरएनए अध्यक्षमा केसीको उम्मेद्‍वारी, उपसंयोजकमा खड्काको उम्मेद्‍वारी


काठमाडौं, २६ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छन् । उहाँले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १० औं महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।

डा. केसीले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । २००३ देखि एनआरएन अभियानमा होमिएका डा. केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका उहाँ २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गर्नुभयो ।

२००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहनुभएको उहाँ २०१३–२०१५ मा भने कोषाध्यक्ष चयन हुनुभएको थियो । त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९–२०२१ मा उपाध्यक्ष रहेका उहाँले अहिले अध्यक्षमा उम्मेद्वारी दिनुभएको हो । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गर्नुभएको उहाँको रसिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय र लगानी रहेको छ ।

एनआरएनएमा उमेद्वारी दर्ताको क्रम बढ्दै गएको छ । त्यस्तै, एसिया प्यासिफिक क्षेत्र अन्तर्गत उपसंयोजक पदका लागि जापानबाट ददिवल खड्काले उमेदवारी दर्ता गराउनुभएको छ । ३० वर्षदेखि जापानमा व्यवसाय गर्दै आउनुभएको खड्का सफल व्यवसायीको रूपमा चिनिनुहुन्छ । खड्का मोना आईसीसीका वरिष्ठ उपाध्यक्ष एवं नेपाली व्यवसायी संघ जापानका उपाध्यक्ष समेत हुनुहुन्छ ।