काठमाडौं, चैत २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा अन्याय हुन नदिने र चुनाव जित्नेबाहेक अरु उद्देश्य राख्न नुहने प्रष्ट पार्नुभएको छ ।
एमाले संसदीय दलको आजको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहका वडा सदस्यदेखि महानगरपालिकाका मेयरसम्म जोजो अहिले जितेका छन्, राम्रो काम गरेकाहरूलाई टिकटमा पहिलो प्राथमिकता दिइने बताउनु भएको हो ।
‘जसले अहिले जितेर राम्रो काम गरिरहेका छन् उनीहरूलाई नै पहिलो प्राथमिकता दिने । कतै नराम्रो गरेकालाई बदमासी गरेकालाई परेछ भने गल्ती सच्याइँन्छ, कसैमाथि अन्याय हुन दिइन्नँ । यो चुनाव पार्टीले जित्नका लागि हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
ओलीले आउने स्थानीय चुनावमा ६० देखि ७० प्रतिशत जनप्रतिनिधि एमालेले जित्ने ठोकुवा पनि गर्नुभयो । उहाँले सरकारले संसदको अधिवेशन हठात अन्त्य गर्नुले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लम्ब्याउने र अदालत प्रयोग गरेर आफू अनुकूल काम गर्ने उद्देश्य लुकेको हुनसक्ने जानकारी पनि गराउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्