काठमाडौं, चैत्र १० । नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशत भन्दा धेरै स्थानीय तह जित्ने दाबी गर्नु भएको छ । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्य दलहरूका अवस्था दयनीय रहेको भन्दै एमालेले एक्लै सबैमा हाबी हुने बताउनुभयो ।
भट्टराईले कांग्रेसलाई सुकेको रुख र एकीकृत समाजवादीलाई मसी सकिएको कलम भनेर टिप्पणी गर्नुभयो । ‘रुख सुकेको छ । कलममा मसी छैन । हँसिया हतौडा गोलाकार भित्र छैन । सूर्य चम्किरहेको छ’ उहाँले भन्नुभयो, ‘ जनताले यो गठबन्धनको विकल्प खोजेका छन् । त्यो विकल्प नेकपा एमाले हो ।
स्थानीय तहको निर्वाचनमा एमाले एक्लै सबैलाई पछि पार्छ ।’अघिल्लो स्थानीय तहको निर्वाचनमा ४५ प्रतिशत एमालेले जितेको भन्दै उहाँले अब एक्लै ६० प्रतिशत जित हुने दाबी गर्नुभयो । ‘हाम्रो गणित प्लस हुँदै जान्छ , कांग्रेसकोमा, अरूमा माइनस हुन्छ’ उहाँले भन्नुभयो ‘गठबन्धनलाई जनताले खुट्टी हेर्दै पत्याइएको छ । अब उनीहरूको भविष्य छैन ।’उनले अगामी निर्वाचनमा मुख्य गरी नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक बिस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबिचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गर्नुभयो ।
आगामी निर्वाचनमा राष्ट्रिय स्तरमा कुनै पनि दलसँग सहकार्य हुन नसक्ने समेत उहाँले बताउनुभयो । स्थानीय स्तरमा भने अघिल्लो कमिटीसँगको समन्वयमा गठबन्धन हुन सक्ने उहाँको भनाई छ । ‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन,’ भट्टराईले भन्नुभयो , ‘आवश्यकता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटीको सिफारिसमा सम्बन्धित जिल्ला कमिटीले तालमेल गर्न सक्छ ।’
गठबन्धनले विभिन्न बहानामा अझै पनि निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि एमालेसँग पनि गठबन्धन हुन सक्ने आशय व्यक्त गरेकोप्रति लक्षित गर्दै उहाँले भन्नुभयो , ‘एमाले भनेको कांग्रेस र माओवादीको बार्गेनिङ चिप्स होइन । एमालेको भूत देखाएर माओवादीले कांग्रेसलाई तर्साएका हुन्’ उहाँले भन्नुभयो , ‘गठबन्धन गरे पनि नगरे पनि हामीलाई केही फरक पर्दैन । हामी राष्ट्रिय स्तरमा कसैसँग पनि गठबन्धन गर्दैनौँ ।’ उहााले एमाले भित्रै पनि वाम तालमेल गर्ने बाटो खुल्ला रहेको समेत बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्