जनता टाइम्स

१२ चैत्र २०७८, शनिबार १९:३८

चिनियाँ विदेशमन्त्रीबाट नेपालाई पोखरा विमानस्थल हस्तान्तरण



काठमाडौं, चैत्र १२ । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्नुभएको हो । उक्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनुभएको थियो ।

विमानस्थलको साँचो चिनियाँ विदेशमन्त्रीबाट परराष्ट्रमन्त्री खड्कालाई हस्तान्तरण लगत्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो विमानस्थलको निर्माण कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कदरपत्र प्रदान गर्नुभएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ । उहाँका अनुसार विमानस्थल निर्माणको बाँकी रहेको सात प्रतिशत काममा डेकोरेशन, फिनिसिङ लगायतका काम रहेको छ ।

विमानस्थलको रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । गएको जुलाई १० मै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना सङ्क्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आगामी वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्छन् ।