जनता टाइम्स

१३ चैत्र २०७८, आईतवार २२:४०

ओली र दाहाललाई मिल्न सुझाएका वाङले माधव नेपाललाई भेट्न आवश्यक नरहेको बताए


काठमाडौँ, चैत्र १३ । उत्तरी छिमेकी चीनले सत्तारूढ दल नेकपा माओवादी र प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई आगामी निर्वाचनमा मिलेर अघि बढ्न सुझाव दिएको छ। नेपाल भ्रमणका क्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको छुट्टाछुट्टै भेटमा चीनका परराष्ट्रमन्त्री वाङ यीले यस्तो सुझाव दिनुभएको हो ।

‘कम्युनिस्टहरू एक हुनुपर्छ। अनेकन् बहानामा फुट्नु नागरिक र मुलुकका लागि राम्रो होइन’, भेटमा सहभागी वाम दलका एक नेताले भन्नुभयो । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने चिनियाँ परराष्ट्रमन्त्री वाङले भेट्न भेट्नु भएन । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले प्रयास गर्दा पनि वाङले भेट नदिनुभएको हो । सत्तारुढ घटकमध्येको एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग वाङको भेट गराउन सरकारका तर्फबाट भएको पहल पनि सफल हुन नसकेको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बताउनुभयो ।

ती अधिकारीले भन्नुभयो, ‘हामीले प्रयास गरेका हौँ तर उता (चिनियाँ पक्ष) बाट अहिले भेट्न आवश्यक नरहेको भन्ने कुरा आयो।’ ‘क्लोज डिनर’ मा समेत अध्यक्ष नेपाल आमन्त्रित हुनुभएन। वाङ आइतबार नै स्वदेश फर्किसक्नुभएको छ । पछिल्ला गतिविधिले चीनको चाहना वर्तमान सत्ता गठबन्धनभन्दा पनि कम्युनिस्ट गठबन्धन कायम होस् भन्ने रहेको नेपाल–चीन मामिलाका एक विज्ञ बताउँछन्।

‘चिनियाँ पक्षले कम्युनिस्ट गठबन्धन कायम रहोस् भन्ने चाहना राखेको छ। तर चीनले कमजोर शक्तिलाई भने कहिल्यै महत्त्व दिँदैन। चिनियाँ मन्त्रीले माधव नेपाललाई नभेटेर त्यही सन्देश दिनुभएको हो , उहाँले भन्नुभयो । नेता नेपालसँग चीनको राम्रो सम्बन्ध रहेको बताइन्छ। यसपटक परराष्ट्रमन्त्रीले भेट नदिनु र डिनरमा समेत नबोलाइनु अर्थपूर्ण रहेको ती विज्ञले बताउनुभयो । आफूलाई भेट्न नदिएकोमा अध्यक्ष नेपालले परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका अधिकारीसँग पनि गुनासो पोख्नुभएको छ। चिनियाँ पक्षले उत्तर दिएको थियो, ‘उहाँको दल निर्वाचनमा गएर आएपछि भेटिहाल्छौँ। अहिले त उहाँका नेताहरूलाई भेटेका छौँ।’

यस्तै चीनले अहिले माधव नेपाल र उनको दल एकीकृत समाजवादीसँग कुनै अपेक्षा नराखेको देखिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताउनुभयो। ती अधिकारीले भन्नुभयो , ‘प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ घटकका मुख्य खेलाडी पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेपछि भइहाल्यो नि भन्ने उहाहरूको निष्कर्ष रह्यो।’ परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा आएका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट भए पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालसँग भने कम्युनिस्ट एकताका विषयमा कुराकानी भएको बताइएको छ।

यता यी दुई दलका तर्फबाट हालै भिन्नभिन्न टोलीले चीन भ्रमण गरेका छन्। वाङ नेपाल आउनुअघि एमाले नेता विष्णु पौडेलको नेतृत्वमा एउटा टोली चीन पुगेको थियो। कम्युनिस्ट एकताका लागि पहल गर्न टोली चीन गएको बुझाइ अधिकांशको छ। पौडेलका साथमा पुष्पराज कँडेल, मीना सिंह, काशिनाथ अधिकारी चीन जानुभएको थियो । उहाँहरु तीन दिन बसेर फर्केपछि माओवादी केन्द्रका वर्षमान पुन, ओनसरी घर्तीमगर र देव गुरुङ पनि चीन पुग्नुभएको छ। चीनका परराष्ट्रमन्त्री वाङको भ्रमणलाई मधेसी दलले भने त्यति सकारात्मक लिएका छैनन्। यसअघि भएका सहमति कार्यान्वयन नगरेको चीन नयाँ सहमतिका लागि किन तत्पर देखिएको छ ? ’मधेसी दलका एक नेताले प्रश्न गर्नुभयो ।

परराष्ट्रमन्त्री वाङ चीनका प्रभावशाली नेता मानिन्छन्। स्टेट काउन्सिलरसमेत रहेका वाङ आगामी मेमा पार्टीमा बढुवा हुने सम्भावना भएका नेता हुनुहुन्छ। उहाभन्दा माथिल्लो तहमा रहेका याङ जेइछीले अवकाश पाउँदै हुनुहुन्च। याङ पोलिटब्युरो कमिटी सदस्य हुनुहुन्छ। २०१३ देखि विदेश मन्त्रालयमा रहेका वाङ २०१८ देखि स्टेट काउन्सिलरको समेत जिम्मेवारीमा हुनुहुन्छ ।

वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गर्नुभएको थियो। उहाँको भम्रणका क्रममा शनिबार नेपाल नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको छ। यस्तै उहाँले शनिबार शिवपुरीमा हाइकिङ गर्नुभयो। परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा नेपाल आउनुभएका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको थियो ।