जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार १७:३६

न्यायिक समिति लोकतन्त्रको वाहक : राष्ट्रपति


पोखरा, चैत १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताको वाहक भएको बताउनु भएको छ । पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो निश्कर्ष सुनाउनु भएको हो ।

‘न्यायिक समितिले पीडित सर्वसाधारणलाई न्याय दिएको छ । पहिले पहिले कचहरीहरूले न्यायको काम गर्दै आएकामा अहिले स्थानीय सरकारले नै त्यसको काम गरेको छ । यो लोकतन्त्रको सुन्दर उपहार हो,’ राष्ट्रपतिले भन्नुभयो ।

राष्ट्रपति भण्डारीले न्याय माग्नेलाई न्याय दिने र पिडकलाई दण्ड जरीवाना गर्ने कुरा लोकतन्त्रमा ठुलो हुने बताउनु भयो । तर, समितिले न्याय दिँदा गम्भीर हुनुपर्ने तथ्य पनि औल्याउनु भएको छ । संविधानले स्थानीय सरकारले नै न्याय सम्पादन गर्न सक्ने व्यवस्था गरेको छ ।

पोखरा महानगरले समितिका संयोजकहरुको राष्ट्रिय भेला आयोजना गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले न्यायिक समितिको क्षेत्राधिकार किटान गरेकाले अधिकारभित्र रहेर काम गर्न आग्रह गरे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले न्यायिक समितिको क्षेत्राधिकार विस्तार गरेर घरदैलोबाटै न्याय दिन सकेको बताए ।